चीनको हपेई युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड विजनेसको नेपाल अध्ययन केन्द्रका निर्देशक चाङ सुपिनले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई काउन्टर गर्ने हतियार बनाए चीनले एमसीसीको सशक्त विरोध गर्ने बताउनु भएको छ।
एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल रिलेसनले आयोजना गरेको नेपाल–भारत–चीन सहकार्य सम्बन्धी एक वेबिनारमा बोल्दै उहाँले नेपाल सरकार र नेपाली जनताले राष्ट्रिय हितलाई केन्द्रमा राखेर बुद्धिमतापूर्वक निर्णय लिने अपेक्षा आफूहरुले गरेको बताउनु भएको अनलाइन खबरले लेखेको छ।
उहाँले विरोधका लागि मात्र विरोध गर्न नहुने भन्दै अमेरिका, चीन र भारतका लागि नेपाल विन विन सहकार्यको प्लेटफर्म हुनुपर्ने र यो नै नेपालका लागि राम्रो हुने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘यदि अमेरिकाले वास्तवमा नै एमसीसीमार्फत नेपालको पूर्वाधार निर्माणमा सहयोग गर्न चाहेको हो भने नेपालका साथीहरुले नेपालको सार्वभौमसत्ता र आर्थिक विकासमा पार्न सक्ने असरसम्बन्धी चिन्तालाई सम्वोधन गर्नका लागि यसलाई आवश्यक संशोधन गर्दा सजिलो हुन्छ। उहाँले नेपालले कुनै सम्भावित हानी नगर्ने सबै मुलुकको आर्थिक सहयोगबाट फाइदा लिने विश्वास समेत व्यक्त गर्नुभयो।
उहाँले अगाडि भन्नुभयो, ‘तपाईंहरुलाई लाग्छ, एमसीसी तपाईहरुका लागि राम्रो छ, यसलाई स्वीकार गर्नुस्, राम्रो छैन भन्ने लाग्छ भने कुनै हिच्किचाहटविना अस्वीकार गर्नुस्। मलाई लाग्छ, यस सम्बन्धमा श्रीलंकाले नेपालका लागि एउटा उदाहरण पेश गरेको छ।’
कार्यक्रममा बोल्दै अमेरिकाको हावर्ड विश्वविद्यालय अन्तर्गतको हावर्ड एसिया सेन्टरका अनुसन्धानकर्ता अनु अनवरले नेपाललाई सबैभन्दा पहिला आफ्नो राष्ट्रिय लक्ष्य पहिल्याएर भारत र चीन दुवैसँग सहकार्य गर्न सुझाव दिनु भएको छ। उहाँले भन्नुभयो, ‘भारत र चीनका वीचमा नेपाल रहेको छ। विश्वमा हेर्ने हो भने साना मुलुकहले पनि राम्रो आर्थिक विकास गरेर शक्ति आर्जन गरेका छन्। उदाहरणका लागि बेल्जियम र सिंगापुरलाई हेर्न सकिन्छ।’
उहाँले दक्षिण एसियाका साना मुलुकहरुले ग्रेट पावरसँग प्रतिस्पर्धा नगरी आर्थिक विकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो। साथै उहाँले दक्षिण एसियामा अमेरिकाले इन्डोप्यासेफिक रणनीतिअन्तर्गत विभिन्न भूमिका खेलको तर दक्षिण एसियाको विकासका लागि योगदान गर्न सक्ने गरी नआएको बताउनुभयो।