आज यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मीपूजा । कार्तिक कृष्ण औँसीमा पर्ने यो पर्व साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी मनाइँदै छ । सफासुग्घर नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यतासाथ बिहानै घर सरसफाइ गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरिन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ। हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ। दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ। साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्ने प्रचलन छ।
यसपालि कुकुर तिहार पनि आज शनिबार नै मनाइँदै छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको समितिले जनाएको छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।