पर्यटकका लागि ८ महिनापछि खुल्यो लुम्बिनी
2020-11-21 18:37:26cri
Share with:

कोरोना संक्रमण फैलिएसँगै ८ महिनादेखि बन्द रहेको गौतमबुद्वको जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरिएको छ। बुधबारदेखि लुम्बिनी क्षेत्रलाई खुला गरिए पनि मायादेवी मन्दिरभित्र भने प्रवेश गर्न पाइने छैन। मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैंचा पर्यटकका लागि खुला रहने सेतोपाटी अनलाइनले लेखेको छ।

यसअघि मायादेवी मन्दिर परिसरभित्र प्रवेश निषेध गरिएको थियो। लुम्बिनीभित्र रहेका विहार, केन्द्रीय नहर, विश्वशान्ति दीप क्षेत्र, मन्दिर बाहिर रहेका उद्यान लगायतका क्षेत्रमा पनि यसअघि पनि मानिसहरूलाई प्रवेश दिइएको थियो। कोरोना संक्रमणका कारण आन्तरिक एवं बाह्य पर्यटकलाई प्रवेश निषेध गरिएपछि आठ महिनादेखि लुम्बिनी सुनसान थियो।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनी पनि खुला गरिएको जानकारी दिनुभयो। मायादेवी मन्दिर परिसरमा प्रवेश गर्ने पर्यटकले अनिवार्य रूपमा मास्कको समेत प्रयोग गर्नुपर्नेछ।

त्यस्तै, गेटबाट प्रवेश गर्नुअघि तापक्रम मापन गरेर मात्रै प्रवेश दिइने छ। सुरक्षाकर्मी र कोषका कर्मचारीहरूले स्वास्थ्य सुरक्षा मापदण्डबारे निगरानी गर्नेछन्। चैत्र ११ गतेदेखि बन्द भएको लुम्बिनीलाई खुला गरिएसँगै सरसफाइ, मर्मत सम्भार, वृक्षारोपण र सौन्दर्यीकरणका काम गरिएको शाक्यले बताउनुभयो।

कोषले कोरोना संक्रमणबाट जोगिन र सजगता अपनाउनका लागि पर्यटक बोक्ने ट्याक्सी तथा रिक्साहरूलाई सुरक्षा तालिम दिएको जनाएको छ। लुम्बिनी क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरूले लुम्बिनी क्षेत्र खुला गर्न पटकपटक माग गर्दै आएका थिए। यस्तै, दुई महिना अघिदेखि मायादेवी मन्दिरमा साँझ बिहान नित्य पूजाको सुरूआत गरिएको छ। मायादेवी मन्दिरमा बिहान ढोका खोल्नु अगाडि र साँझ ढोका बन्द गर्नु अगाडि पूजापाठ गर्ने परम्पराको भाद्र पूर्णिमाको अवसर पारेर सुरूआत गरिएको थियो।

मायादेवी मन्दिरमा बेला बेला पूजापाठ हुने गरे पनि नियमित पूजा हुने गरेको थिएन। अहिले भने धूप, दीप, जल अर्पण गरी त्रिरत्न बन्दना, परित्राण पाठ लगायतका कार्य गरी साँझ बिहान नै नियमित पूजा सुरू गरिएको हो। लुम्बिनी गुरूयोजना क्षेत्रमा रहेका विभिन्न विहारका भिक्षु भिक्षुणीहरूले हरेक दिन आलोपालो गरी नियमित पूजा गर्दै आएका छन्।

हरेक दिन बिहान एवं बेलुका ६ बजे मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भको छेउमा पूजा हुँदै आएको छ। यस्तै, लुम्बिनीलाई डिजिटल सुरक्षा प्रणालीले कभर गरिएको कोषले जनाएको छ।

कोषका योजना प्रमुख सरोज भट्टराईले पवित्र उद्यान, बिहार क्षेत्र र लुम्बिनीग्रामका विभिन्न ठाउँमा गरी १ सय ७५ वटा सिसिटिभी क्यामेरा र २५ वटा पिटिजेड क्यामेरा जडान गरिएको जानकारी दिनुभयो।

पिटिजेड क्यामेराले टाढाको वस्तु फोकस गरेर र जुम गरेर हेर्न मिल्छ।

फाइबर र वायरलेस माध्यमबाट लुम्बिनीको महत्वपूर्ण सबै क्षेत्रमा सिसी क्यामेरा जडान गरी २४ औं घण्टा निगरानी गरिएको कोषका सूचना प्रविधि इन्जिनियर दिवाकर गौतमले बताउनुभयो। लुम्बिनीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र वीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी सुरक्षामा खटिएका छन्।