एडीबीद्वारा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग
2020-11-21 18:36:47cri
Share with:

एशियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ।  बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न शुक्रबार स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ। त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ।

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ। यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ।