धानखेतमा करेण्ट लागेर हात्तीको मृत्यु
2020-11-22 16:33:58cri
Share with:

धान खान गाउँ पसेको एउटा भाले हात्तीको आइतबार सप्तरीमा करेण्ट लागेर मृत्यु भएको छ। सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारास्थित धानखेतमा भाले हात्ती मृत फेला परेको स्थानीय बच्चुलाल चौधरीले बताउनु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। चौधरीका अनुसार उत्तर–दक्षिण गएको ११ केभी (किलो भोल्टेज)को विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको छ र बिजुलीको पोल ढलेको छ।

कोशी टप्पु वन्य जन्तु आरक्षबाट ३/४ वटाको सङ्ख्यामा आएको हात्तीको समूहले धान खाएर नष्ट पारेको र उनीहरुमध्ये अन्दाजी ७० वर्षको बहिरो हात्तीको बिजुलीको करेण्ट लागेर मृत्यु भएको गाउँलेहरु बताउँछन्। हात्ती मृत फेला परेको विषयमा अनुसन्धान गर्न आरक्षका सहायक वार्डेन सन्तोष भगत नेतृत्वको टोली घटनास्थल पुगेको छ। नजिकै रहेको उक्त क्षेत्रमा लामो समयदेखि आरक्षको हात्तीको बथान आवतजावत गर्ने गर्छन्।

दुर्घटनावस करेण्ट लागेर हात्तीको मृत्यु भएको देखिएको आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले बताउनुभयो। कम उचाईबाट बिजुलीको तार लगेको वा हात्तीले पोलमा धक्का दिंदा तार लत्रिएकोबारे अनुसन्धान भइरहेको वार्डेन चौधरीले बताउनुभयो। हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै वार्डेन चौधरीले मृत हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर घटनास्थलमै गाडिने जनाउनुभयो।