महामारीमा पनि नेपाली पर्यटन उद्योगले जगाउँदैछ आशाको सञ्चार
2020-11-22 16:33:28cri
Share with:

नेपालमा बन्दाबन्दी र प्रतिबन्धपछि करिब आठ महिनाको अवधिमा विदेशी पर्यटकको आवागमन लगभग शून्यप्रायः रह्यो तर बन्दाबन्दी शुरु भएयता कात्तिक महिनामा सर्वाधिक सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागको विवरणमा कात्तिक महिनामा मात्र दुई हजार ९०० विदेशी नागरिक नेपाल आएका छन्। उनीहरुमध्ये एक हजार ३७० पुरुष र ६३९ महिला हुन्। उक्त अवधिमा अमेरिकाबाट ४५५, बेलायतबाट ३२६ पर्यटक नेपाल आएका छन्। चीनबाट १६१, भारतबाट १२५, टर्कीबाट ८२ र रुसबाट ८१ जना पर्यटक नेपाल आएका राष्ट्रिय समाचार समितिले लेखेको छ।

यसअघि साउन महिनामा १३७, भदौमा ४११ र असोजमा एक हजार १९१ विदेशी पर्यटक नेपाल आएको देखिन्छ। अहिले घुमफिर वा कुनै उद्देश्यका लागि नेपाल आउने विदेशी पर्यटकले सात दिन होटल क्वारिन्टन बस्नुपर्ने व्यवस्था छ। पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरु चाहेको गन्तब्य जान पाउँछन्।

अहिले आएका पर्यटकमध्ये धेरै नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, विदेशी उच्चस्तरका पाहुना तथा संयुक्त राष्ट्रसङ्घ आबद्ध कर्मचारी धेरै छन्। पर्यटक बढे पनि बोर्डबाट अक्टोबर महिनामा ८० हाराहारीमा मात्रै प्रवेशाज्ञाका लागि सिफारिस गरिएको बोर्डका निर्देशक मणि लामिछानेको भनाइ छ। उहाँले हालको सङ्क्रमणलाई कम गर्न बोर्डले सङ्कटका समयमा गरिएको सम्पर्क या सञ्चार ‘क्राइसिस् कम्युनिकेशन टुल’ को तयारी गरिरहेको जानकारी दिनुभयो।