सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिने नेपाल सरकारको लक्ष्य: एकैदिन ३९४ अस्पताल शिलान्यास हुँदै
2020-11-22 16:32:18cri
Share with:

नेपाल सरकारले एकैदिन ३ सय ९४ वटा अस्पतालको शिलान्यास गर्ने तयारी गरेको छ। सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यका साथ सरकारले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमध्ये ३ सय ९४ वटामा अस्पताल निर्माण थाल्ने भएको नेपाल खबर अनलाइनले लेखेको छ।

त्यसका लागि यही मंसिर १५ गते एकैदिन ३९४ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भनेर सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत कार्यक्रम अघि बढाइएको हो।

सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको मन्त्रालयले जनाएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कात्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार मंसिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो। सोही बमोजिम सरकारले तयारी थालेको हो। प्रवक्ता गौतमका अनुसार अहिले शिलान्यास गरिने अस्पताल १५ शय्याका हुनेछन्। अर्को वर्षसम्ममा अस्पताल नभएका ६ सय ४९ वटै स्थानीय तहमा यस्ता अस्पताल बनाइने उहाँको दाबी छ।