कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेन विस्तार र नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण पुसबाट सुरु गरिने
2020-11-22 16:32:58cri
Share with:

नेपाल सरकारले ४ लेनको कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेनमा विस्तार गर्ने काम पुसदेखि सुरु गर्ने भएको छ। थप दुई लेन विस्तार गर्न ठेक्का मूल्याङ्कनको काम भइरहेको सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिनु भएको नयाँ पत्रिकाले लेखेको छ। उहाँका अनुसार मंसिर तेस्रो हप्तासम्ममा ठेक्काको टुंगो लाग्नेछ। डिभिजनका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ भित्रै काम सक्ने योजना छ। सडक विस्तार कोटेश्वर चोकदेखि काठमाडौं र भक्तपुर जोड्ने मनोहरा पुलसम्म गरिनेछ। १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको सडक विस्तारका लागि सबै प्राविधिक अध्ययनको काम सम्पन्न भइसकेको छ।

पूर्वबाट राजधानी भित्रिने एक मात्र नाकामा दैनिक तीन घन्टासम्म जाम हुन थालेपछि सरकारले समाधानको उपायस्वरूप सडक विस्तार गर्ने योजना अघि सारेको हो। यसअघि बजेटमा समेत सरकारले सो क्षेत्रमा जामको समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो।

नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार संस्थानले अहिले कोटेश्वर–जडीबुटी सडकखण्डमा विद्युत् र टेलिफोनको तार भूमिगत गर्ने काम गरिरहेको छ। उनीहरूले मंसिर तेस्रो हप्तासम्ममा काम सम्पन्न गर्ने जानकारी दिएको सडक डिभिजन कार्यालयको भनाइ छ। ‘अब निर्माण हुने सडकलाई पटक–पटक भत्काउन नपरोस् भनेर तार भूमिगत गर्ने काम सकेर मात्र सडक निर्माण थाल्न लागिएको हो,’ डिभिजन प्रमुख कुबेर नेपालीले भन्नुभयो। ढल र सडक निर्माणको काम भने एउटै ठेक्कामा गर्ने गरी समन्वय गरिएको छ। यसले पटक–पटक सडक भत्काउने र फरक–फरक निकायले आफ्नो काम गर्दा त्यसको असर सडकमा पर्ने सम्भावना हटेको छ। विगतमा सडक विस्तारको काम गर्दा अन्य सरोकारवाला निकायसँग समन्वय नहुँदा समस्या हुँदै आएको छ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार सडक विस्तारका लागि जग्गा प्राप्तिको काम सकिएको छ। त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराइसकेको छ। प्राधिकरणले साढे सात रोपनी जग्गा उपलब्ध गराएको हो। त्यस्तै, सडकको दक्षिणी क्षेत्रमा पर्ने काठमाडौँ महानगरपालिकाको जग्गा पनि प्राप्त गर्ने प्रक्रियामा सहमति भइसकेको डिभिजन प्रमुख नेपालीले जानकारी दिनुभयो। त्यस क्षेत्रमा सार्वजनिक शौचालय र अन्य केही केबलहरू रहेछन्। उनीहरूले १० वर्षको सम्झौता महानगरसँग गरेका थिए। तर, अझै ३ वर्ष सम्झौता बाँकी हुँदाहुदै पनि महानगरपालिकाले शौचालय हटाउने निर्णय गरेको र त्यसका लागि अन्य ठाउँमा जग्गा उपलब्ध गराउने गरी सहमति भएको छ।

तर, जडीबुटी चोकमा रहेको एउटा सानो घर प्राप्तिमा भने अझै सहमति भएको छैन। घरधनीले धेरै मुआब्जा खोजेका कारण ढिलाइ भएको हो। त्यसलाई पनि मनाउने काम भइरहेको डिभिजन कार्यालयले जानकारी दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कोटेश्वरदेखि जडीबुटी जाने सडकको बायाँतर्फ एक लेन र दायाँतर्फ दुई लेन सडक विस्तार गर्न पुग्ने जग्गा प्राप्ति भएको छ। तर, तत्काललाई दुवैतर्फ एक–एक लेन मात्र विस्तार गरिनेछ।

सरकारको योजनाअनुसार अहिले तिनकुने–कोटेश्वर–जडीबुटी हुँदै पेप्सीकोलातर्फ जानेलाई मात्र एकतर्र्फी एउटा छुट्टै लेन तयार गरिनेछ। त्यस्तै, भक्तपुरतिरबाट कोटेश्वर चोक हुँदै बालकुमारी–ललितपुरतर्फ जानका लागि एकतर्फी दुईवटा ‘डेडिकेटेड लेन’ तयार गरिनेछ। यसले अहिले कोटेश्वरको जाम गट्ठाघरसम्म पुग्ने र ‘पिक आवर’मा ३ घन्टासम्म जाममा बस्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ।

धुलिखेल–बर्दिवास जोड्ने बिपी राजमार्ग सञ्चालनमा आएपछि पूर्व जाने सवारीसाधनको एक मात्र निकासद्वार कोटेश्वर–जडीबुटी सडकलाई मानिन्छ। बिपी राजमार्ग सञ्चालनमा आएपछि पूर्व जाने सवारीसाधनको अत्यधिक वृद्धि भयो। तर, काटेश्वर र जडीबुटीका बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘लाइट सिग्नल’ पोलका कारण साँघुरो (बोटलनेक) सडक छ। यसैकारण जाम हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो। उहाँका अनुसार बिहान र बेलुका अधिकतम ३५ मिनेटसम्म जाम हुने गरेको छ। तर, सर्वसाधारणले औसतमा ३ घन्टा जाम खेप्नुपरिरहेको बताउँछन्। जाम हुनुको अर्को कारण भक्तपुर क्षेत्रमा बस्ती विकास आक्रामक रूपमा हुनुलाई पनि मानिन्छ।

यसैगरी बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग खन्ने काम पुसदेखि थालिने भएको छ। २४ कात्तिकदेखि सुरुङ खन्ने योजना भए पनि आवश्यक स्टिलको पोर्टल फ्रेम आइपुग्न ढिला भएकाले काम पछाडि धकेलिएको नागढुंगा सुरुङमार्गका निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सुरुङ खन्न थाल्नुपूर्व ढोकाको चौकोस आकारका फ्रेम राख्नुपर्छ। त्यसपछि मात्र निर्माण थालिन्छ।’ पोर्टल फ्रेम अर्डर दिएको कम्पनीका कर्मचारी कोरोना संक्रमित हुँदा ढिलाइ भएको उहाँको भनाइ छ। ‘अझै १० दिन ढिलाइ हुने जानकारी पाएका छौँ,’ उहाँले भन्नुभयो। त्यसपछि निर्माणस्थलमा ल्याएर जोड्न अर्को १० दिन लाग्नेछ। त्यसपछि मात्र सुरुङ खन्ने काम थालिनेछ। ‘ढिलोमा पनि पुसदेखि सुरुङ खन्ने काम सुरु हुनेछ,’ निमित्त प्रमुख शाक्यले भन्नुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बलम्बुबाट थालनी भई धादिङको सिस्ने खोलामा निस्किने सुरुङमार्गको शिलान्यास गर्नु भएको वर्ष दिन पूरा भएको छ। सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो आयोजनामा तीन लेनको सुरुङमार्ग हुनेछ। उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन्। यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलव ४५ किमि हुनेछ।