चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा “प्यालेष्टिनी जनताको समर्थन दिने अन्तर्राष्ट्रिय दिवस”को स्मृति सम्मेलनलाई बधाई सन्देश
2020-12-02 19:17:29cri
Share with:

संयुक्त राष्ट्र संघले डिसेम्बर १ तारिख “प्यालेष्टिनी जनताको समर्थन दिने अन्तर्राष्ट्रिय दिवस”का लागि स्मृति सम्मेलनको आयोजना गरेको छ। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले बधाई सन्देशमा प्यालेष्टाइन समस्या मध्य-पूर्वको मूलभूत समस्याको रुपमा क्षेत्रीय शान्ति र स्थिरता, अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय, तथा मानव जातिको नैतिकतासँग सम्बन्धित रहेको भन्दै प्यालेष्टाइन र इजरायल बीचको शान्ति सह-अस्तित्व युगौं युगदेखि प्यालेष्टाइन र इजरायलका जनताको सपना हुनुका साथै यस क्षेत्रमा भएका जनता र अन्तर्राष्ट्रिय समाजको अपेक्षा पनि रहेको औंल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले चीनले प्यालेष्टाइन समस्यालाई उच्च महत्व दिएर अन्तर्राष्ट्रिय मापदण्ड तथा नैतिकताबाट प्यालेष्टिनी जनताले राष्ट्रिय बैधानिक अधिकारको पुन:प्राप्तिका लागि गर्ने न्यायपूर्ण कार्य र प्यालेष्टाइन समस्याको शान्तिपूर्ण तवरद्वारा समाधान गर्नका लागि सबै पक्षको प्रयासको समर्थन गर्दै आएको कुरामा जोड दिनुभयो। प्यालेष्टाइनको असल मित्रको रुपमा चीनले भ्याएसम्म सघाउ पुर्‍याउने छ। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको स्थायी सदस्य मुलुक तथा उत्तरदायी मुलुकको रुपमा चीनले अन्तर्राष्ट्रिय समाजसँगै मिलेर प्यालेष्टाइन समस्याको समाधानका लागि अथक प्रयास गर्ने र मध्य-पूर्व क्षेत्रका शान्ति, स्थिरता र विकासका लागि सक्रिय योगदान पुर्‍याउने पनि उहाँले औँल्याउनुभयो।