बंगलादेशबाहेक सबै गन्तव्यमा उडान खुला
2020-12-03 19:40:49cri
Share with:

बंगलादेशबाहेक सबै गन्तव्यमा उडान खुला

नेपाल सरकारले एयर बबल प्रणालीमार्फत भारत र नेपालबीचको उडान खोल्ने भएको छ। गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि भारत, बंगलादेश, भुटान र थाइल्यान्ड उडान हुन सकेको थिएन। भुटान र थाइल्यान्डले अनुमति पाएर पनि नेपाल उडान सुरु गरेका छैनन्। भारतले अझै एक महिना नियमित उडान खोल्न नसकिने जनाएपछि उसैले पठाएको प्रस्ताव अनुसार एयर बबल प्रणालीमार्फत उडानको तयारी भइरहेको नागरिक अनलाइनले लेखेको छ।

एयर बबल प्रणाली भनेको एकअर्को मुलुकका नागरिक मात्र ओसारपसार गर्न पाउने गरी हुने हवाई उडान हो। यसको मतलब अब नेपाल र भारतबीच हुने उडानमा यी दुई मुलुकका नागरिकले मात्र यात्रा गर्न पाउनेछन्। ती उडानमा तेस्रो देशका नागरिकलाई यात्रा गर्न पाउने छैनन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुसार कूटनीतिक माध्यमबाट उडानको तयारी थाल्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई उडान तालिका बनाउन निर्देशन जारी गरेको छ।

सरकारले कोरोना महामारीका कारण बन्द भएको भण्डै ६ महिनापछि उडान सुरु गरेको थियो। भदौ ४ गतेको मन्त्रिपरिषद्ले निश्चित उडान सञ्चालन गर्ने निर्णय गरे पनि भारत जाने र उताबाट नेपाल आउने उडान बन्दै थियो। 

सरकारले गत जेठ अन्तिममा सुरु गरेको चार्टर्ड उडानबाट बैंगलोरमा अलपत्र नेपाली ल्याउँदा नेपाल वायुसेवा निगमलाई घाटा भएपछि भारतमा चार्टर्ड उडान पनि हुन सकेको थिएन। प्राधिकरण स्रोतका अनुसार अर्को साताबाट नेपाल वायुसेवा निगम र भारतीय विमान कम्पनीले दिल्ली–काठमाडौं रुटमा दैनिक एक–एक उडान गर्नेछन्। बंगलादेशमा हुने उडानबारे भने कुनै निर्देशन नभएको प्राधिकरणले जनाएको छ। नेपालमा लकडाउन सुरु हुनुअघि नेपाल वायुसेवा निगमले दिल्लीमा साताको १४, बैंगलोर र मुम्बईमा साताको ३–३ उडान भर्दै आएको थियो।

प्राधिकरणले भारतीय उड्डयनसम्बद्ध निकायसँगको सल्लाहमा मापदण्ड बनाएर सेवा सुरु हुने जनाएको छ। नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। हाल नेपालमा उडान र अवतरण गरी दैनिक २८ सम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ। चीनमा साताको दुई उडान हुँदै आएको छ।