नेपालमा कोरोनाको दोस्रो लहर आउनसक्ने
2020-12-04 19:05:12cri
Share with:

नेपालमा कोरोनाको दोस्रो लहर आउनसक्ने

नेपालमा कोरोना भाइरसको पहिलो लहर बिस्तारै सकिँदै गएकाले संक्रमित संख्या घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ। चाँडै नै दोस्रो लहर सुरु हुने आकलनका साथ तयारी थालेको पनि मन्त्रालयले जनाएको नेपाल खबर अनलाइनले लेखेको छ।

‘अरु देशमा दोस्रो लहर आइरहेकाले हाम्रोमा पनि आउने सम्भावना उत्तिकै छ,’ स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भन्नुभयो, ‘जाडो बढ्दै गएको र जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना नभएको अवस्थामा पुस मध्यसम्म दोस्रो लहरका संकेतहरु देखिनसक्ने आकलन छ।’

युरोपका विभिन्न मुलुकका साथै दक्षिण एसियाका भारत, पाकिस्तान र बंगलादेशमा कोरोनाभाइरसको दोस्रो लहर देखिएको छ। दोस्रो लहर आउनसक्ने सम्भावना अन्तर्राष्ट्रिय रुपमै देखिएकाले त्यसैअनुरुप मन्त्रालयले काम अघि बढाएको डा. कार्कीले बताउनुभयो।

‘दोस्रो लहरमा संक्रमितको संख्या बढ्छ। त्यसैले अस्पतालको क्षमता, जनशक्ति बढाउनेबाहेक अन्य विकल्प हामीसँग छैन। त्यो काम गरिरहेका छौं,’ कार्कीले भन्नुभयो, ‘६ हजार एचडीयू बेडको परिकल्पना पनि यसैलाई लक्षित गरेर हो।’

‘अहिले अस्पतालहरुमा २० हजार कोभिड बेड छुट्टाएका छौँ। २६ सय आईसीयू र १२ सय भेन्टिलेटर छन्,’ उहाँले थप्नुभयो, ‘२५० चिकित्सकलाई एचडीयू, भेन्टिलेटर चलाउन तालिम दिएका छौं। रोकथामका लागि निरन्तर लागिरहेका छौं।’

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले कुनै न कुनै दिन दोस्रो लहर आउने भएकाले रोकथामका उपायमा लागिहाल्नुपर्ने बताउनुभयो। अबको चार महिनापछि मात्रै नेपालमा खोप उपलब्ध हुने सम्भावना रहेकाले त्यसबेलासम्म व्यवहार परिवर्तन, परीक्षण बढाउँदै लगेर संक्रमणलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो।

‘पहिलो लहरभन्दा दोस्रो लहरमा पुग्दा कोरोनाबाट बच्ने उपाय, यसको उपचारका लागि थप तयारी गरिसकेका हुन्छौं। त्यसैले संक्रमण बढेपनि मृत्युदर भने कम हुने देखिन्छ,’ दीक्षितले भन्नुभयो, ‘दोस्रो लहर आउँछ। तर हामीले सतर्कताका साथ काम ग¥यौँ भने ठूलो क्षति हुनबाट रोक्न मद्दत पुग्छ।’

दीक्षितले अहिले नेपालमा पहिलो लहर नै चलिरहेकाले अझै डेढ दुई महिनायता दोस्रो लहर नआउने अनुमान गर्नुभयो। दोस्रो लहरमा कति संक्रमित हुनसक्छन् भन्ने आकलन भने सरकारले गरिसकेको छ। गतसाता स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आगामी चार महिनामा नेपालमा १ लाख ४८ हजार संक्रमित थपिनसक्ने बताएका थियो।

तर, त्यो अनुमान पुरानो भएको कार्की बताउनुहुन्छ। उहाँले दोस्रो लहर कसरी आउँछ, त्यो हेरेर संक्रमणको प्रवृत्तिबारे अनुमान गरिने बताउनुभयो।