पोखरामा आन्तरिक पर्यटकको चहलपहल
2020-12-05 18:51:23cri
Share with:

पोखरामा आन्तरिक पर्यटकको चहलपहल

यतिबेला नेपालकै प्रख्यात पर्यटकीय स्थल पोखरामा आन्तरिक पर्यटकहरुको चलहपहल देखिन थालेका छ। दसैंपछि आन्तरिक पर्यटकको आगमन सन्तोषजनक रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउनु भएको छ। उहाँका अनुसार पोखरा बाहिरबाट आफ्नै सवारी साधन र हवाईजहाज चढेर घुम्न आउने धेरै छन्। त्यसमा प्रायः २० देखि ४० वर्ष उमेर समूहका रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

स्वास्थ्य मापदण्ड पूरा गर्दै लेकसाइडका ६० प्रतिशत होटल आधा क्षमतामा चलेको उहाँले जानकारी दिनुभयो। ‘संक्रमण बढ्दै जाँदा पनि लेकसाइड यत्तिको चलायमान हुनुलाई कालो बादलमा चाँदीको घेराका रूपमा लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सावधानी अपनाउँदै यसरी नै पर्यटक बढ्ने आशा पलाएको छ।’उहाँका अनुसार मध्यमस्तरका होटलमा हाल २० देखि २५ प्रतिशत अकुपेन्सी छ।

आन्तरिक पर्यटकको आगमनले तत्काल सञ्चालन खर्चसम्म धानिएको रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल बताउनुहुन्छ। उहाँका अनुसार ६० प्रतिशत जति नै रेस्टुरेन्ट खुलेका छन्। यद्यपि रेस्टुरेन्टमा खानाका परिकार र मूल्य कम गराइएको छ। पहिलेको तुलनामा आधा कामदार छन्। ‘पूर्ण क्षमतामा व्यवसाय नगरे पनि अहिले आन्तरिक पर्यटकको आगमनले केही राहत मिलेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले नाफा कमाउनेभन्दा पनि सञ्चालन खर्च धान्ने रणनीतिमा रेस्टुरेन्ट खोलेका छौं।’ आन्तरिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रले प्याकेजको व्यवस्था गरे व्यवसायीसमेत पलायन नहुने अवस्था आउने उहाँले थप्नुभयो। ‘तत्काल बाह्य पर्यटक आउने आशा छैन। अबको ६–७ महिना आन्तरिक पर्यटकमै भर पर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘घरमा बस्दाबस्दा दिक्क भएकालाई सावधानीपूर्वक घुम्न प्रेरित गर्नुपर्छ।’ पोखरालाई आधार बनाएर चल्ने ट्रेकिङ रुट नखुलिसकेकाले ट्रेकिङ इक्विपमेन्ट पसल चल्न सकेका छैनन्। सामान नबिग्रियोस् भनेर पसल भने खोल्ने गरेको ट्रेकिङ इक्विपमेन्ट सप एसोसियसन (टेसा) पोखराका अध्यक्ष रामचन्द्र गिरीले बताउनुभयो।

विशुद्ध ट्रेकर्सबाटै पसल चल्ने भएकाले ट्रेकिङ रुट नै नखुल्दा व्यवसाय ठप्प भएको उहाँको भनाइ छ। ‘९० प्रतिशत व्यापार ट्रेकिङ जानेबाटै हुने हो, १० प्रतिशत स्थानीयबाट हुन्छ,’ उहाँले भन्नुभयो, ‘ट्रेकिङ रुट खुल्ने हो भने धेरै राहत हुने थियो।’लेकसाइडमा झन्डै एक सय वटा ट्रेकिङ इक्विपमेन्ट पसल छन्। तीमध्ये ९० प्रतिशत खुला छन्। यस क्षेत्रमा खुला भएको मर्दी हिमाल ट्रेकिङ रुट मात्रै हो। उक्त रुटम दसैं र तिहारको बीचबाट भने अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट चाहिने बनाइएको छ। अन्नपूर्ण आधार शिविर, पुनहिल–घोडेपानी, घान्द्रुकलगायतका आकर्षक गन्तव्य अझै बन्द छन्। स्थानीय व्यवसायीले नै कोरोना महामारीमा ट्रेकिङ रुटका होटल रेस्टुरेन्ट खोलेका छैनन्।

प्याराग्लाइडिङसँगै बन्जी जम्प, जिप फ्लायर, अल्ट्रालाइट, घलेलको क्यानोनिङलगायत साहसिक गतिविधिमा भारी छुट भएकाले आन्तरिक पर्यटक आकर्षित छन्। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय यही साताबाट खुलेको छ। पोखराका तालबाराही, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, डेभिड फललगायत गन्तव्य भने अझैं खुलेका छैनन्।

पोखरामा आन्तरिक पर्यटक आए पनि पर्यटकीय स्थल नखुल्नु चिन्ताको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेल बताउनुहुन्छ। ‘निजी क्षेत्रबाट गर्नुपर्ने कर्तव्य पूरा गर्दै आयौं। प्रोटोकलहरू पालना गर्दै सेवा दिन तयार भयौं,’ उहाँले भन्नुभयो, ‘ती गन्तव्य खोल्न स्थानीय तह र प्रदेश सरकारसँग छलफल पनि चलाइयो तर पर्यटनको मर्मलाई बुझाउन सकिएन।’

कोभिड भ्याक्सिन उपलब्ध हुने आशाले व्यवसायीलाई हर्षित बनाएको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनेबित्तिकै खरिद गर्न नेपाल सरकार चुस्त रूपमा तयार हुनुपर्ने उहाँको सुझाव छ। ‘त्यसपछि मात्रै पर्यटक पनि घरबाहिर निस्कने परिवेश बन्छ। व्यवसायी पनि सहजताका साथ सेवा प्रवाह गर्न तयार हुन्छौं,’ उहाँले भन्नुभयो, ‘तत्काललाई बन्द भएका गन्तव्य खोल्न सरकारका संयत्रले पहल गर्नुपर्‍यो।’