कोभिड महामारीपछि नेपालका आधामात्र उद्योग पूर्ण सञ्चालनमा
2021-01-13 18:48:13cri
Share with:

कोभिड महामारीपछि नेपालका आधामात्र उद्योग पूर्ण सञ्चालनमा_fororder_Nepali News 1

नेपाल राष्ट्र बैकको एक अध्ययनले कोभिड–१९ अघिको तुलनामा ५३.९५ प्रतिशत मात्र उद्योगहरू सञ्चालनमा आएको देखाएको छ। राष्ट्र बैकको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनले यस्तो देखाएको कारोबार अनलाइनले लेखेको छ। गत असारमा पहिलो सर्भेक्षण गरेको राष्ट्र बैकले १३ कात्तिकदेखि २४ मंसिरसम्म पुनरवृत्ति सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा ६ सय ७४ उत्तरदाता सहभागी भएकोमा त्यसमध्ये ९० प्रतिशत अर्थात ६ सय ४ उद्योगी-व्यवसायीहरू थिए। यीमध्ये ठूला व्यवसायी ३.९७ प्रतिशत थिए भने सबैभन्दा बढी लघु-साना खुद्रा व्यापारी ४२.७२ प्रतिशत थिए।

अध्ययनले असारको तुलनामा मंसीरमा उद्योग-व्यवसाय सञ्चालन, कारोबार र रोजगारीको अवस्थामा सुधार आएको भएपनि कोभिड–१९ पुवको अवस्थामा अझै उद्योग-व्यवसायहरू सञ्चालन हुन नसकेको निष्कर्ष निकालेको छ। त्यसैगरी उद्योग/व्यवसायहरूको बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाई भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाई भएको जस्ता समस्याहरू अगाडी सारेको पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार, अझै ३६.९८ प्रतिशत उद्योगहरू आंशिक रुपमा सञ्चालनमा छन् भने ९.०७ प्रतिशत सञ्चालनमा आउन सकेका छैनन्। गत असारमा आएको सर्वेक्षण प्रतिवेदनमा भने ६१.०३ प्रतिशत सञ्चालन हुन नसकेको, ३४.९२ प्रतिशत आंशिक सञ्चालनमा आएको र ४.०५ प्रतिशत मात्र पूर्ण सञ्चालनमा आएको उल्लेख थियो तर पाँच महिनापछिको सर्वेक्षणले भने पूर्ण सञ्चालनमा आएका उद्योगको संख्या झण्डै ५० प्रतिशतले वृद्धि भएको उल्लेख छ।

प्रतिवेदनअनुसार पूर्ण सञ्चालनमा आएकामध्ये सबैभन्दा बढी ६६.६७ प्रतिशत विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योग छन्। गत असारको प्रतिवेदनमा यसको संख्या शून्य थियो। गत असारमा शून्य रहेको शिक्षातर्फका उद्योग भने हालसम्म पनि सबैभन्दा कम ११ प्रतिशत मात्र सञ्चालनमा आएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले गत असारको तुलनामा उद्योग-व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योगहरूहरू सुधार आएको देखिएकोमा त्योमध्ये पनि अधिकांश ठूलो उद्योगहरूको अवस्थामा उल्लेख्य सुधार आएको छ। प्रतिवेदनले गत असारममा ५० करोडमाथि स्थिर पुँजी भएका ठूला उद्योगको पूर्ण सञ्चालन ६.९० प्रतिशत मात्र रहेकोमा अहिले ७५ प्रतिशत पुगेको उल्लेख गरेको छ। प्रतिवेदनअनुसार घरेलु उद्योग १६.६४ प्रतिशत, लघु उद्यम-साना खुद्रा व्यापार ८.१४ प्रतिशत, १५ करोडसम्म स्थिर पुँजी भएका साना उद्योग १४.०८ प्रतिशत, १५ देखि ५० करोडसम्म स्थिर पुँजी भएका मझौला उद्योग १२.२४ प्रतिशत तथा ५० करोडभन्दा माथि स्थिर पुँजी भएका ठूला उद्योग ८.३३ प्रतिशत अझै पूर्ण सञ्चालनमा आएका छैनन्।

प्रतिवेदनले कोभिड महामारी अगाडीको तुलनामा उत्पादन÷कारोबारमा अवस्थाको आधारमा राष्ट्रिय औसदमा ५०.५१ प्रतिशत मात्र भएको उल्लेख छ। गत असारमा २८.७७ प्रतिशत मात्र थियो। रोजगारीमा भने गत असारमा कोभिड अगाडीको तुनालमा ७७.५० प्रतिशत रहेकोमा ८७.५१ प्रतिशत पुगेको छ। तलब–ज्याला खर्चतर्फ भने गत असारमा ६३.४० प्रतिशत रहेकोमा मंसीरमा ७०.३९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनमा उद्योग-व्यवसायहरूले भोगेका समस्याहरूमा पहिलो बजार माग घटेर कारोबार ह्रास, दोस्रोमा सञ्चालन खर्च धान्न कठिनाई, तेस्रोमा थप कर्जा प्राप्त गर्न कठिनाई, चौथोमा पुँजी र तरलता व्यवस्थापन र पाचौँमा बैकको सहयोग प्राप्त नभएको उल्लेख छ।