सम्झनामा म्याराडोना , जसले प्रशंसाका लागि मृत्यु कुर्न परेन
2021-01-14 14:29:33cri
Share with:

--------------अजय अलौकिक

सम्झनामा म्याराडोना , जसले प्रशंसाका लागि मृत्यु कुर्न परेन_fororder_src=http___i0.sinaimg.cn_2010_arg_2010-06-28_U3615P939T17D55028F289DT20100628070227&refer=http___i0.sinaimg

म्याराडोनाको नाम सुन्‍ने बित्तिकै फुटबल मैदानको बीच भागबाट विपक्षी खेलाडीलाई कलात्मक ढंगले छक्याउँदै र बललाई नियन्त्रणमा लिँदै विपक्षी गोल पोस्टमा गरेको गोल मन मस्तिष्कमा चल्न थाल्छ। प्राय देखिरहेका फुटबल खेलाडीभन्दा केही होचो देखिने मोटोघाटो म्याराडोनाले त्यसरी कलात्मक ढंगले विपक्षीतिर गरेको सबै प्रहार गोल भएका पनि होइनन्। तापनि उनको त्यो जुझारूपन, बलसँगको बेजोड सम्बन्ध त्यो कला जादुमयी छ।

कुनै जादुगरको प्रस्तुती जस्तो या चित्रकारले चित्र उतारिरहेको जस्तो उनको खुट्टामा बल परेपछि यस्तैयस्तै लाग्छ। उनको यो कलालाई सन् १९८२ फुटबल विश्वकपमा नै विश्वका खेलप्रेमीले देख्‍न पाए तापनि सन् १९८६ को विश्वकपमा मात्र सारा विश्वले हेर्न पाएको थियो। त्यो समय टेलिभिजनको विकासको युग थियो, जसले गर्दा विश्वभरि टेलिभिजन पुगिसकेको थियो। विश्वभरिका घटनाहरू सो टेलिभिजनमा हेर्न सुन्‍न पाइन्थ्यो।

हाल जसरी फेसबुक लाइभको चलन छ, त्यस बखत टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्नु साँचो अर्थमा विश्व एउटा सानो गाउँमा परिणत भइरहेको बुझ्‍न कठिन थिएन। नेपालमा पनि नेपाल टेलिभिजनको (सन् १९८५) स्थापना भइसकेको थियो। तर घरघरमा टेलिभिजन नभए तापनि टेलिभिजन भएको घरमा गएर मनपर्ने या लोकप्रिय मानिएका टेलिभिजन कार्यक्रम हेर्ने चलन बसेको थियो। यसैबीच नेपाल टेलिभिजनले सन् १९८६ फुटबल विश्वकप मेक्सिकोका केही खेलहरूको रेकर्ड प्रसारणसँगै फाइनल खेल प्रत्यक्ष प्रसारण गरेको थियो।

यसै फाइनल खेलमा फुटबल महारथी तत्कालीन पश्चिम जर्मनीविरूद्ध उत्रेको थियो दक्षिण अमेरिकाको अर्को महारथी अर्जेन्टिना र यसै खेलमा सारा विश्व झुलेका थिए, भुलेका थिए म्याराडोनाको खेल कौशलमा। यही विश्वकपमा क्याप्टेनसमेत रहेका जादुगर म्याराडोनाले अर्जेन्टिनालाई दोस्रो विश्वकप जिताएका थिए। सो फाइनल खेलमा अर्जेन्टिना म्याराडोनाको पासमा होर्खे बुरूचागाले खेलको ८३ मिनेटमा गरेको निर्णायक गोलले पश्चिम जर्मनीविरूद्ध दुईको विरूद्ध तीन गोलले विश्व विजेता बनेको थियो। साथै सो विश्वकपमा उनले पाँच गोलका साथै पाँच (एसिस्ट) गोलका लागि पास उपलब्ध गराएका थिए। यसरी अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउनुसँगै चाहेर या नचाहेर असंख्य फुटबलप्रेमीको मनमा उनले बास गरेका थिए। त्यो बास, त्यो छाप अमित छ, सदा अजम्बरी रहने छ।

सम्झनामा म्याराडोना , जसले प्रशंसाका लागि मृत्यु कुर्न परेन_fororder_src=http___oss.suning.com_snsis_channel_content_QuBvwVlZB-SRYA2d9UHge2f4fo4ZBi8I-nHdKEIgXnMW7__frBW10-gWRnIacvQy&refer=http___oss.suning

उनैको नेतृत्वमा अर्जेन्टिनाले सन् १९९० को विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो तर दुर्भाग्य अन्तिम पलमा दिइएको पेनाल्टीलाई जर्मनीले गोलमा परिणत गरेपछि उपविजेताको रूपमा चित्त बुझाउन परेको थियो। तर रेफ्रीको अन्तिम सिट्ठीपछि जसरी म्याराडोना रोए नि त्यसले उनका सारा प्रशंसकलाई पनि धुरूधुरू रूवायो। यसपछि उनको खेल जीवन लागूपदार्थ सेवन तथा विवादास्पद टिप्पणी र बोलीबचनका कारण ओझेलमा पर्न गयो। खेलाडी कहिले हार मान्दैन भने झैँ उनी सन् १९९४ को विश्वकपमा तङ्ग्रिएर आएका पनि थिए तर शक्तिवर्द्धक औषधिको प्रयोग गरिएको पाएपछि उनी निलम्बनमा परे र धेरैपछिसम्म क्लबस्तरीय फुटबलमा मात्र देखा परे र सन् १९९७ मा व्यवसायिक फुटबलबाट सन्यास लिए।

साथै सन् २००८ मा उनी अर्जेन्टिना फुटबल टिमको प्रशिक्षकमा नियुक्त पनि भए तर प्रशिक्षकको रूपमा उनीमाथिको आशा सन् २०१० को विश्वकप क्‍वाटर फाइनलमा जर्मनीसँग पराजित भएसँगै तुहिएको थियो। यसैबीच र आजसम्म पनि अर्जेन्टिनासँगै विश्वमा कोही राम्रा खेलाडी देखिए कि म्याराडोनासँग तुलना गर्ने पनि गरिन्छ या त्यस खेलाडीमा म्याराडोना खोज्‍ने पनि गरिएको छ। चाहे त्यो मेस्सी होस् या ओर्टेगा या रिकेल्मे। उनका प्रशंसकहरू विश्व फुटबल जगतमा उनी जस्तो कोही नभएको ठोकुवा गर्छन्।

फुटबल इतिहासलाई केलाउँदा कालो हीरा नामले परिचित ब्राजिलका पेलेले सन् १९६० र ७० दशकलाई आफ्नो बनाएका थिए भने म्याराडोनाले ८० को दशकमा आफ्नो वर्चश्व राखेको देखिन्छ। तर उनको अद्भुत कलाप्रति जो कोही नतमस्तक छन्। उनी सर्वकालिन महान खेलाडी हुन् भन्ने कुनै शंका या दुविधा छैन। उनको जन्म सन् १९६० अक्टुबर ३० मा अर्जेन्टिनाको राजधानी ब्यूनस एरिसमा भएको थियो। उनले जुनियर लेभलमा देखाएको उत्कृष्ट प्रदर्शनपछि सन् १९८१ मा अर्जेन्टाइन क्लब बोका जुनियर्स हुँदै स्पेनको बार्सिलोनामा सबैभन्दा महँगो खेलाडीको रूपमा आबद्ध हुन पुगेका थिए र सन् १९८४ मा ईटालीको नेपोली क्लबमा आबद्ध भएका थिए।

उनले अर्जेन्टिनाका लागि ९१ वटा खेलमा ३४ गोल गरेका थिए। उनले सन् १९७६ मा अर्जेन्टाइनोज जुनियर्सबाट फुटबल खेल्न सुरू गरी अर्जेन्टिनाको सिनियर क्लब बोका जुनियर्स, स्पेनको बार्सिलोना, इटालीको नेपोली, स्पेनको सेभिल्ला र अर्जेन्टिनाको न्यूवल्स ओल्ड बोए र अन्तमा फेरि बोका जुनियर्समा सन् १९९५ मा आबद्ध भइ सन् १९९७ मा व्यवसायिक फुटबल खेलाडीका रूपमा विश्राम लिए पनि फुटबल प्रबन्धक र प्रशिक्षकको रूपमा सन् १९९४ देखि थालेको यो कार्य २०२० सम्म निरन्तर चलिरहेको थियो। उनी पछिल्लो पटक मेक्सिकन क्लबपछि अर्जेन्टाइन क्लबका प्रबन्धक रहेका थिए।

सम्झनामा म्याराडोना , जसले प्रशंसाका लागि मृत्यु कुर्न परेन_fororder_583bfaf203142208b07ec5fd

उनै महान खेलाडी म्याराडोनाको ६० वर्षको उमेरमा नोभेम्बर २५ तारिख कार्ड्याक एरेस्टका कारण निधन भएको छ। साथै उनको केही हप्ताअघिमात्रै ब्रेन सर्जरी गरिएको थियो। उनको निधनमा अर्जेन्टाइन सरकारले तीन दिने शोक मनाउने भएको छ। उनको मृत्युले फुटबलसँगै सबै खेलप्रेमीलाई शोकाकुल बनाएको छ। उनको मृत्युसँगै विश्वले श्रद्धाञ्जलीस्वरूप भावनात्मक शब्दहरू व्यक्त गर्ने छन्, गरिरहेका छन्। तर उनी एउटा यस्तो मानव पनि हुन्, जसले प्रशंसाका लागि मृत्यु कुर्न परेको थिएन।

साथै उनको जीवनशैलीका कारण धेरै पटक बदनाम पनि भए, विवादमा तानिए पनि। तर फुटबल खेलाडीको रूपमा उनलाई सबैले महानभन्दा पनि महानको दर्जा दिएका छन्। हुन त उनको सन् १९८६ को ईङ्लयाण्डविरूद्धको खेलमा हातद्वारा गरिएको गोलको विरोध अझै हुने गरेको छ तर उनले यो हात भगवानको भएको टिप्पणी गरेका छन्। अब उनको यो ह्याण्ड अफ गडसँगै उनी पनि भौतिक संसारबाट विलिन भएर भगवानमा लिन हुन पुगेका छन्, अजर अमर भएका छन्। विश्वकै एक आकर्षक, कुशल, प्रतिभाशाली, जादुगर, महान सर्वकालिन खेलाडी डिएगो अर्माण्डो म्याराडोनालाई श्रद्धासुमन।

(सर्वप्रथम इकागज डटकममा मंसिर ११, २०७७ मा प्रकाशित)