चिनियाँ अन्तरिक्ष यान छाङ अ-५ मानव जातिका लागि नयाँ आशा
2021-01-15 10:33:47cri
Share with:

----------अजय अलौकिक

गत बिहिबार चीनको मानवरहित अन्तरिक्ष यान छाङ अ-५ चन्द्रमाबाट चट्टान लिएर पृथ्वीमा सफल अवतरण गरेको छ। योसँगै मानवजातिको अरू ग्रहहरूको खोज र अन्वेषणमा नयाँ आशा पलाएको छ। यो मानवजातिकालागि सधैँ रहस्यमय रहेको अन्तरिक्ष तथा सौर्य प्रणालीसम्बन्धमा ऐतिहासिक कदम बनेको छ। साथसाथै चीन ४४ वर्षपछि चन्द्रमाबाट चट्टान ल्याउने तेस्रो मुलुक पनि बनेको छ।

यसै गरी चीनको चन्द्रमा अन्वेषण परियोजनाले सन् २००४ देखि चरणबद्ध रूपमा नयाँ उपलब्धि हासिल गर्दैआएको छ। चीनले सन् २००४ देखि औपचारिक रूपमा चन्द्रमा अन्वेषणका लागि छाङ अ परियोजनाको स्थापना गरेको हो। छाङ अ चिनियाँ दन्त्यकथाकी लोकप्रिय पात्र हुन्। कथा अनुसार छाङ अ चन्द्रमामा बस्ने परी हुन्। यसैले चन्द्रमा अन्वेषण परियोजनाको नाम छाङ अ राखिएको हो। यो छाङ अ चन्द्रमा अन्वेषण परियोजना तीन चरणमा विभाजित छ। पहिलो चरण बिनामानव चन्द्रमाको अन्वेषण, दोस्रो मानवसहित चन्द्रमाको अन्वेषण र तेस्रो तथा अन्तिम चरण चन्द्रमामा केन्द्र स्थापना गर्ने रहेका छन्।

चिनियाँ अन्तरिक्ष यान छाङ अ-५ मानव जातिका लागि नयाँ आशा_fororder_src=http___n.sinaimg.cn_sinacn20117_465_w1785h1080_20190306_d76e-htwhfzs7370299&refer=http___n.sinaimg

छाङ अ परिवार

चन्द्रमा अन्वेषण परियोजनाअन्तर्गत यो छाङ अ-५ अन्तरिक्ष यानको कार्यभार छैठौं चरणको हो। यसअघि चीनले छाङ अ १ देखि ४ नम्बरका अन्तरिक्ष यानहरू तथा म्यागपाइ पुल डेटा सङ्कलन उपग्रहको सफल प्रक्षेपण गरिसकेको छ। छाङ अ परिवारका सदस्यबारे जानकारी।

छाङ अ-१

सन् २००७ अक्टोबर २४ तारिख प्रक्षेपित यस यानले ४९४ दिनसम्म चन्द्रमाको परिक्रमा गरी सन् २००९ मार्च ३ तारिख आफ्नो कार्यभार पूरा गरेको थियो।

छाङ अ-२

सन् २०१० मा प्रक्षेपित यस यानले चन्द्रमाको बाहिरी भागको दृश्य पठाउनुका साथै छाङ अ-३ यान उत्रने क्षेत्रको हाइडेफिनेशन दृश्य रेकर्ड गरेको थियो।

छाङ अ-३

सन् २०१३ को डिसेम्बरमा यस यानले चन्द्रमामा सफलताका साथ सफ्ट ल्याण्डिङ गरेको थियो जसबाट चीन विश्वमा अमेरिका तथा तत्कालीन सोभियत संघपछि चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराउने तेस्रो मुलुक बनेको थियो।

छाङ अ-४

सन् २०१९ को जनवरीमा यस यान मानव अन्तरिक्ष इतिहासमा पहिलो पटक चन्द्रमाको पछाडिपट्टिको भागमा उत्रिएको थियो। हाल पनि यस यानमा पठाएको यूटू-२ रोभर चन्द्रमामै कार्यरत छ। साथै निकट भविष्यमा छाङ अ-६ र ७ नयाँ सदस्यका रूपमा थपिने तयारीमा छन्।

म्यागपाइ पुल डेटा सङ्कलन उपग्रह

यो विश्वमै पृथ्वीको कक्ष बाहिर रहेको पहिलो दूरसञ्चार उपग्रह हो। यसले चन्द्रमाको बाहिरी तथा पछाडिको भागबाट सङ्कलन गरिएको डेटा पृथ्वीमा पठाउने गर्दछ।

चिनियाँ अन्तरिक्ष यान छाङ अ-५ मानव जातिका लागि नयाँ आशा_fororder_src=http___img.mp.itc.cn_upload_20170304_97648243bb4a4b79aa4dc8971e719b08_th&refer=http___img.mp.itc

अहिले चीन चन्द्रमा अन्वेषण परियोजनाको पहिलो चरणमा छ। सन् १९५९ मा अमेरिका र तत्कालीन सोभियत सँघले श्रृंखलाबद्ध रूपमा चन्द्रमा अन्वेषण गर्ने अन्तरिक्ष यानको प्रक्षेपण गरेका थिए। साथै सन् १९६९ मा अमेरिकाले अन्तरिक्ष यात्रीलाई चन्द्रमामा समेत पठाएको थियो। निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो मानव पाइला टेकेका थिए। तर चार दशकभन्दा बढी समयमा मानिसले अन्तरिक्ष क्षेत्रमा नयाँ क्रान्ति पहिल्याउन सकेको छैन।

हालको चन्द्रमा अन्वेषणले चीनको शक्ति प्रदर्शन गरेको छ साथै यसले अन्तरिक्ष विकास र उच्चप्रविधिको क्रमबद्ध परियोजनाको विकासलाई अघि बढाउने छ। हालसम्म कुनै अन्तरिक्ष यान चन्द्रमाको त्यस भागमा पुगेको थिएन। त्यसैले पनि यसलाई चीनको अन्तरिक्ष इतिहासमा सबैभन्दा जटिल कार्य मानिएको थियो। छाङ अ-५को सफलता चीनको मात्र सफलता नभई सारा मानवजातिका लागि पनि चन्द्रमा तथा अन्तरिक्षको अन्वेषणमा ऐतिहासिक कदम हो।

 

छाङ अ-५ टाइमलाइन

नोभेम्बर १७ - नोभेम्बरको अन्तमा छाङ अ-५ प्रक्षेपण गरिने जानकारी नोभेम्बर १७ तारिख चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन व्यूरोद्वारा छाङचङ-५ ढुवानी रकेटबाट छाङ अ-५ लाई नोभेम्बरको अन्तमा प्रक्षेपण गर्ने जानकारी। यसअघि छाङचङ-५ ढुवानी रकेटबाट मङ्गल ग्रहको अन्वेषणकालागि थेन वन-१ अन्तरिक्ष यानको सफलताकासाथ प्रक्षेपण।

नोभेम्बर २४ - छाङ अ-५ अन्तरिक्ष यानको सफलताका साथ प्रक्षेपण बेइजिङ समयअनुसार, नोभेम्बर २४ तारिख बिहान ४ बजेर ३० मिनेट जाँदा चीनद्वारा वनछाङ प्रक्षेपण केन्द्रबाट छाङ अ-५ यानको सफलताका साथ प्रक्षेपण। छाङचङ ढुवानी रकेटले २२०० सेकण्डसम्म आकाशमा उडेपछि छाङ अ-५ लाई निर्धारित कक्षमा पुर्याएको। यो छाङचङले गरेको ३५३ औं प्रक्षेपण कार्य हो। वैज्ञानिकका अनुसार, पृथ्वी र चन्द्रमाबीचको औसत दूरी ३.८ लाख किलोमिटर छ।

नोभेम्बर २८ - छाङ अ-५ चन्द्रमा परिक्रमा कक्षमा प्रवेश बेइजिङ समयअनुसार, नोभेम्बर २८ तारिख बेलुका ८ बजेर ५८ मिनेटजाँदा छाङ अ-५ चन्द्रमाको परिक्रमा गरी सफलताका साथ कक्षमा प्रवेश। डिसेम्बर १ - डिटेक्टर चन्द्रमाको सतहमा अवतरण एक सातासम्म करिब ३ लाख ८० हजार किलोमिटरको यात्रापछि डिसेम्बर १ तारिख राति छाङ अ-५ को डिटेक्टरले चन्द्रमाको मोन्स रूमकर नजिकै अवतरण। चिनियाँ डिटेक्टरले चन्द्रमाको सतहमा सफलताकासाथ अवतरण गरेको यो तेस्रो पटक हो।

डिसेम्बर २ - चन्द्रमाको सतहबाट नमुना सङ्कलन

डिसेम्बर ३ - चन्द्रमाबाट चन्द्रमाको चट्टानको नमुना बोकेर पृथ्वीतिर फर्किँदै

डिसेम्बर ६ - पृथ्वीमा फर्कन चन्द्रमा परिक्रमा कक्षमा प्रवेश

डिसेम्बर १७ - चन्द्रमाबाट नमुना सङ्कलन गरी पृथ्वीमा सफल अवतरण

डिसेम्बर १७ तारिख बिहिबार एक बजेर ५९ मिनेटजाँदा चन्द्रमाको माटो र चट्टानको नमुना सङ्कलन गरी ल्याएको छाङ अ-५ अन्तरिक्ष यान चीनको भित्री मङ्गोलियाको सचवाङछीको निर्धारित क्षेत्रमा सुरक्षित रूपमा अवतरण गरेको हो। योसँगै छाङ अ-५ को कार्यभार सफलताकासाथ सम्पन्न भएको छ। यसका साथै छाङ अ-५ ले चिनियाँ अन्तरिक्ष इतिहासमा ५ वटा नयाँ किर्तिमान बनाएको छ।

चिनियाँ अन्तरिक्ष यान छाङ अ-५ मानव जातिका लागि नयाँ आशा_fororder_src=http___5b0988e595225.cdn.sohucs.com_images_20181208_9da94843ae114179a00335924c04599c.jpeg&refer=http___5b0988e595225.cdn.sohucs

पाँच नयाँ किर्तिमान

चीनको राज्य परिषद्को प्रेस कार्यलयद्वारा डिसेम्बर १७ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय अन्तरिक्ष ब्युरोका उपप्रमुख एवं चन्द्रमा अन्वेषण परियोजनाका उपमहानिर्देशक ऊयेन ह्वाले चन्द्रमा अन्वेषण परियोजनासम्बन्धी छाङ अ-५ अन्तरिक्ष यानले चीनको अन्तरिक्ष इतिहासमा ५ वटा रेकर्ड बनाएको बताएका छन्। उपमहानिर्देशक ह्वाका अनुसार, यी ५ वटा रेकर्डहरू क्रमशः पहिलो पटक पृथ्वी बाहिर अन्तरिक्षमा सङ्कलन, पहिलो पटक पृथ्वी बाहिरको अन्तरिक्षमा यानको प्रक्षेपण गरी निश्चित रुपमा कक्षमा प्रवेश, पहिलो पटक चन्द्र कक्षमा मानवबिना सम्पर्क स्थापना साथै सङ्कलन गरिएको वस्तु हस्तान्तरण, पहिलो पटक चन्द्रमाबाट सङ्कलन गरिएको वस्तु बोकेर फिर्ता र पहिलो पटक चीनद्वारा चन्द्रमाबाट सङ्कलन गरिएको वस्तुको संरक्षण र अनुसन्धान प्रणालीको स्थापना हुन्।

यसै बीच चीनका राष्ट्रपति सी चिनफिङले चन्द्रमा अन्वेषण परियोजनाको मुख्य निर्देशनालय तथा उक्त परियोजनामा सहभागी सबै कर्मचारीलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै जारी सन्देशमा अन्तरिक्षको अन्वेषण गर्ने मानवजातिको पाइला कहिल्यै नरोकिने भन्दै मानवजातिले शान्तिपूर्ण रुपमा अन्तरिक्षको सदुपयोग गर्नुका साथै मानव समुदाय भाग्यको एकरुपताको निर्माण प्रक्रियालाई अघि बढाउनकालागि अझ बढी योगदान मिल्ने उल्लेख गरेका छन्।

साथै संयुक्त राष्ट्रसंघले सन् १९८४ मा पारित एक प्रस्तावमा चन्द्रमा तथा अन्य ग्रहमा रहेका प्राकृतिक स्रोत मानवजातिको संयुक्त सम्पत्ति रहेको र कुनै पनि मुलुक तथा संगठन यसको एक्लो मालिक नभएको उल्लेख गरेको छ। चन्द्रमाबाट ल्याइएको नमुनाबाट वैज्ञानिकहरूले चन्द्रमाको भूगर्भ तथा त्यहाँको ज्वालामुखीका गतिविधिहरूबारे गहन रूपमा अध्ययन तथा जानकारी लिएर चन्द्रमा लगायत सौर्य प्रणालीको उत्पत्ति र विकासको इतिहासबारे पत्ता लगाउनसकिने विश्वास छ।

(सर्वप्रथम इकागज डटकममा पुस ४, २०७७ मा प्रकाशित)