कीर्तिपुरमा नेपालको पहिलो सालक पदमार्ग घोषणा
2021-02-21 15:29:30CRI
Share with:

कीर्तिपुरमा नेपालको पहिलो सालक पदमार्ग घोषणा गरिएको छ । १०औं विश्व सालक दिवसको अवसर पारेर कीर्तिपुरको बाघभैरव सामुदायिक वनमा साल पदमार्गको घोषणा गरिएको हो। दुर्लभ एवं संरक्षित जीव सालकको संरक्षणका लागि भन्दै शनिबार एक कार्यक्रमका बीच सामुदायिक वन, कीर्तिपुर नगरपालिका, साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउण्डेसन(एसएमसीआरएफ) लगायतका संस्थाहरुको अगुवाइमा पदमार्ग घोषणा गरिएको कान्तिपुर अनलाइनमा समाचार छ।

कीर्तिपुर–४ को बाघभैरव सामुदायिक वन क्षेत्रबाट सुरु हुने उक्त पदमार्ग करिब २ घन्टा उकालो लागेपछि सालक चौतारीमा पुगेर टुंगिन्छ । यो ट्रेल ५ किलोमिटर लम्बाइको छ । सालक पाइने क्षेत्र भएकाले संरक्षणका अन्य कार्यक्रमहरू ल्याउन पनि पदमार्ग घोषणा गरिएको हो ।रलजालु स्तनधारी जन्तु सालक किसानका साथी मानिन्छन् । सालकले मानिसलाई हानि गर्दैन । कीरा र कमिलालाई आहारा बनाउने सालकको संख्या बर्सेनि घट्दा यसलाई कसरी जोगाउने भन्नेमा संरक्षणकर्मीको ध्यानाकर्षण भएको छ ।

नेपालमा मात्रै नभएर सालक पदमार्ग विश्वमै पहिलो पटक घोषणा गरिएको सालकमा विद्यावारिधि गरिरहेकी एसएमआरएफकी संस्थापक तुलसीलक्ष्मी सुवालले बताउनुभयो। ‘सम्भवत: यो विश्वकै पहिलो सालक पदमार्ग हो । यो पदमार्गमा सालकको चौतारी पनि छ,’ उहाँले भन्नुभयो। विश्वमै अति दुर्लभ मानिने सालक नेपालमा कालो र तामे गरेर दुई प्रकारका पाइन्छन् । यसमा चाइनिज सालक भनेर चिनिने कालो सालक अति संकटापन्न सूचीमा छ।