नेपाल–चीन व्यापारिक नाका केरुङलाई सक्रिय बनाउन नेपालका तीन प्रस्ताव
2021-02-21 15:20:39CRI
Share with:

कोभिड–१९ का कारण एक वर्षदेखि अस्थिर रहेको नेपाल–चीन व्यापारिक नाका केरुङलाई सक्रिय बनाउन नेपालले तीन वटा प्रस्ताव अघि सारेको छ । चिनियाँ नव वर्ष लाग्नुअघि फेब्रुअरी पहिलो साता सिगात्सेमा गरिएको छलफलमा नेपालले राखेका प्रस्तावमाथि चिनियाँ पक्ष सकारात्मक रहेको र थप छलफलपछि जानकारी दिने बताएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

नेपाली व्यापारीका सामान पर्याप्त मात्रामा नेपाल जान नसकिरहेको गुनासो आइरहेका बेला चिनियाँ पक्षले कोभिड नियन्त्रणका कारण असहज भएको तर अन्य कुनै मनसाय नरहेको स्पष्ट पारेको महावाणिज्यदूत नवराज ढकालले बताउनुभयो। नाकाहरूको स्थलगत भ्रमणका लागि जान खोजेको महावाणिज्यदूत नेतृत्वको टोली हिमपातका कारण रोकिएपछि सिगात्सेमै केरुङ र तातोपानी भन्सार, सीमा सुरक्षा, वाणिज्य विभागका प्रतिनिधिलगायतसँग अन्तर्क्रिया गरी फर्किएको थियो । तिब्बत वैदेशिक विभागले बैठकको समन्वय गरिदिएपछि नेपालले केरुङ नाकाका लागि तीन सुझाव अघि सारेको ढकालले बताउनुभयो । ढकालका अनुसार तिब्बती वाणिज्य विभागका महानिर्देशकसँग दुई सिफ्टमा सामान पठाउने, तातोपानी मोडल अपनाउने र नेपाली चालक केरुङपट्टि छिर्न दिने गरी तीन सुझाव राखिएको कान्तिपुर अनलाइनमा खबर छ ।

तिब्बतीहरूको नयाँ वर्ष ल्होसार सकिएपछि तातोपानी नाकाबाट दैनिक २० भन्दा बढी कन्टेनर नेपालतर्फ गइरहेको र केरुङबाट दैनिकजसो पाँच वटा कन्टेनर मात्रै चीनतर्फ आएको ढकालले बताउनुभयो । दैनिक दुई सिफ्ट गरेर १६ वटासम्म कन्टेनर पठाउने बाटो खोलिदिन चीनलाई आग्रह गरिएको उहाँको भनाइ छ ।

दोस्रो विकल्पमा तातोपानी नाकामा जस्तै चीनबाट जाने कन्टेनर मितेरी पुलपारि छाडिएपछि नेपाली ट्रकले तानेर लैजाने व्यवस्था गर्न सकिने भनाइ छ। तेस्रो विकल्पमा, नेपाली चालक र कामदारलाई चिनियाँ क्षेत्रभित्र पस्न दिने छ । नेपालपट्टि रसुवागढीमा करिब दुई दर्जन हाराहारीमा चालक र मजदुरको दैनिक तापक्रम नाप्ने र १४/१४ दिनमा पीसीआर टेस्ट पनि गर्ने गरिएको छ । उनीहरूलाई केरुङपट्टि राखेर नेपाली ट्रक लैजाने व्यवस्था गर्न नेपालको प्रस्ताव छ ।