वस्तु आयातसँगै नेपालमा राजस्व पनि बढ्यो
2021-02-22 18:49:29cri
Share with:

वस्तु आयातसँगै नेपालमा राजस्व पनि बढ्यो_fororder_Nepali News 4

]पछिल्लो समय नेपालमा वस्तु तथा सेवाको आयात बढेसँगै राजस्व संकलनमा समेत वृद्धि भएको छ। कोरोना भाइरसको प्रभावले घट्दै गएको राजस्व संकलन पछिल्लो चार महिनायता क्रमिक रूपमा बढ्दै गएको हो। कोभिडको प्रभाव कम भई आयात बढ्न थालेपछि राजस्व संकलन पनि बढ्दै गएको भन्सार विभागले जानकारी दिएको कारोबार अनलाइनले लेखेको छ। मुलुकमा पेट्रोलियम पदार्थ, सवारी साधनका पार्टपुर्जा, फलाम स्टिल, विद्युतीय सामान, मोबाइलको आयात बढ्दा राजस्व संकलन बढ्दै गएको विभागको भनाइ छ।

विभागका अनुसार, चालू आर्थिक वर्षको सात महिनामा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा २ खर्ब २७ अर्ब २७ करोड ९५ लाख २७ जार राजस्व संकलन भएको छ। पुस महिनासम्ममा ६ खर्ब ७१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रुपैयाँ बराबरको सामान आयात हुँदा १ खर्ब ८७ अर्ब ६५ करोड ३९ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। तथ्यांकले एक महिनामा आयातबाट मात्र ४० अर्ब रुपैयाँ राजस्व बढेको देखाएको छ।

यस्तै मंसिर महिनासम्ममा ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाख ४२ हजार रुपैयाँको आयात हुँदा १ खर्ब ५० अर्ब ८९ करोड ५० लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। यस्तै कात्तिक महिनासम्ममा ४ खर्ब २४ अर्ब ९० करोड १७ लाख ८ हजार रुपैयाँको आयात हुँदा १ खर्ब १६ अर्ब १३ करोड २० लाख २१ हजार राजस्व संकलन भएको भन्सार विभागको तथ्यांक छ।

विभागका अनुसार असोज महिनासम्ममा २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजार रुपैयाँको सामान आयात हुँदा ८१ अर्ब ७१ करोड ४४ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो। भदौ महिनासम्ममा १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको आयात हुँदा ४५ अर्ब ७८ करोड १० लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको थियो। चालू आवको पहिलो महिना अर्थात् साउनमा ८५ अर्ब ८० करोड ७९ लाख ८९ हजार रुपैयाँको सामान आयात हुँदा २१ अर्ब ८७ करोड ६० लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। पछिल्लो समय आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन। जसका कारणले गर्दा व्यापार घाटा बढ्दै गएको छ। चालू आवको सात महिनामा निर्यातमा ७.६१ प्रतिशतले बढेर ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्यांक छ। तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्याकेजिङ तथा प्रशोधन भई भारत निर्यात गरेकै आधारमा केही वस्तुका कारण निर्यात बढ्दै गएको तथ्यांकले देखाएको छ। व्यवसायीले भटमासको कच्चा पदार्थ बाहिरबाट आयात गरेर प्रशोधन गरी निर्यात गर्ने गरेका छन्। भारतले पाम आयलको प्रतिबन्ध लगाएसँगै भटमास कच्चा पदार्थ आयात गरेर पुनः निर्यात हुने गरेको छ।