६५ अर्ब चिनियाँ लगानीमा चीन-नेपाल मैत्री औद्योगिक पार्क
2021-03-01 16:07:26CRI
Share with:

नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिलान्यास गर्नुभएको छ। झापाको दमकस्थित रतुवा र मावा नदीबीचको एक हजार ४२२.२५ हेक्टर क्षेत्रफलमा उक्त पार्क दुई वर्षभित्र निर्माण सम्पन्न हुने चिनियाँ कम्पनीले जनाएको छ। चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ।

०७६ असोजमा लगानी बोर्डले गरेको सम्झौताअनुसार पार्कमा विभिन्न चरणमा गरेर ६५ अर्ब नेपाली रुपैयाँ बराबरको चिनियाँ लागानी भित्रिने छन्। झापाको दमक र गौरादह नगरपालिकामा तथा कमल गाउँपालिकामा फैलिने यो पार्कको निर्माण कार्य छिटोमा अबको तीन साता पछि अघि बढ्ने निर्माण कम्पनीले दाबी गरेको छ।

अनलाइनखबरका अनुसार लगानी, आकार र सञ्चालनपछि उत्पादनको हिसाबले यो पार्क नेपालकै सबै भन्दा ठूलो र दक्षिण एसियाकै नमूना हुने चीन-नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले बताए । एक लाख मानिसलाई रोजगारी दिने दाबी गरिएको पार्कमा सबै चरणमा गरेर विभिन्न प्रकारका ४९१ वटा औद्योगिक प्लान्टहरु रहने छन्। औद्योगिक पार्कमा मूख्यतय पाँच प्रकारका उद्योग रहने र ती उद्योगलाई सहयोग गर्ने लजिस्टिक सहयोग र सूचना प्रविधि तथा तालिमका लागि छुट्टै दुई वटा पार्कहरु पनि रहनेछन्।

औद्योगिक पार्कभित्र होमप्लाईन्सेसका सामानहरु उत्पादन गर्ने हृवाईट गुड्स उद्योग, ढुवानीका सामाग्री उत्पादन गर्ने उद्योग, टेक्सटायल तथा गार्मेन्ट उत्पादनको उद्योग, खाद्यन्न प्रशोधन र विद्युतिय सूचना प्रविधिका सामाग्री उत्पादन गर्ने उद्योगहरु खुल्ने अध्यक्ष थापाले बताउनुभयो। पार्कमा बिद्युतीय सवारी साधनदेखि मोबाईलसम्म निर्माण हुनेछ। पार्कभित्र बालबालिका अध्ययन गर्न विद्यालय, स्वस्थ्यपोचार गर्न स्वास्थ्य संस्था हरित वातावरण मैत्री वातावरण पार्क भित्र रहने कम्पनीले जनाएको छ। वैदेशिक लगानी नेपाल भित्र्याउने, प्रविधि हस्तान्तरण गराउने, रोजगारी व्यवस्थापन गर्ने र हाइटेक कम्पनीमार्फत नेपालबाट विश्व बजारमा उत्पादनहरु पुर्‍याउने पार्कको विशेषता हुने अध्यक्ष थापाको भनाइ छ।

निर्माण कम्पनीले तयार पारेको पार्कको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अहिले मुल्यांकनको अन्तिम चरणमा छ । दुवै प्रतिवेदन केही दिनमै स्वीकृत भएपछि ढिलोमा तीन साता पछि पार्क निर्माणको काम अघि बढ्नेछ। पहिलो पटक चिनियाँ इन्जिनियरहरुको टोली फिल्ड आएर फर्किएको र अबको तीन साता पनि पुनः माटो परीक्षण लगायतको काम लागि उनीहरु आउने कम्पनीले जनाएको छ।

भारत, भुटान र बंगलदेशसंगको नजिकको नेपाली भूभागमा रहने पार्कमा विश्व बजारका प्रख्यात कम्पनीहरु भित्रिने निश्चत भएको पार्क व्यवस्थापनले जनाएको छ। हालसम्म २६ त्यस्ता कम्पनीको उद्योग पार्कभित्र रहने निश्चित भएको र बाँकी ९८ वटा प्रक्रियामा रहेको पार्कका अध्यक्ष थापाले बताउनुभयो।