नेपाली अर्थतन्त्रको आकार साढे ३९ खर्ब
2021-03-05 15:50:18CRI
Share with:

नेपालको अर्थतन्त्रको आकार साढे ३९ खर्ब पुगेको छ । तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्षमा परिमार्जन गरी सार्वजनिक गरेको आकडा अनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको हो ।

नेपालमा यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्कहरु तयार पार्ने गरिएको थियो । चालु आवबाट सरकारले उक्त वर्षमा परिमार्जन गर्दै नयाँ आधार वर्ष तय भएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार नेपालमा अब राष्ट्रिय लेखा तथ्याङ्कको गणनाका लागि सन् २०१०/११ लाई आधार वर्षका रुपमा मानिनेछ ।

यसअघि नेपालले आधार मानेको वर्षका आधारमा नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँको रहेको थियो । नयाँ आधार वर्ष अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १४.०७ प्रतिशतको वृद्धि देखिएको छ । १० वर्षभित्र थप भएका अर्थतन्त्रका अवयव र राष्ट्रिय लेखामा छुटपुट भएका तथ्याङ्कहरु समेत राख्दा कुल गार्हस्थ्य उत्पादनको आकार बढेको उनले जानकारी दिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आवको अर्थतन्त्रको आकारको वृद्धिदर भने मात्र ५ प्रतिशत हो ।

तर, आधार वर्षमा गरिएको परिवर्तनका कारण अर्थतन्त्रको आकार भने ठूलो बनेको रेग्मीले बताउनुभयो। ‘पछिल्लो तथ्याङ्क अझ बढी यकिन हो,’ उहाँले भन्नुभयो, हामीले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित मान्यताअनुसार नै आधार वर्षमा परिमार्जन गरेका हौं ।’

नेपालले हरेक १०/१० वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको छ । नेपालले विगतमा सन् १९६४/६५, सन् १९८४/८५, सन् १९९४/९५ र २०००/२००१ मा आधार वर्ष मानेर लेखा तयार पारेको छ । अहिले भएको परिवर्तन पाँचौं हो । नेपालमा जनगणना, कृषि गणनादेखि अधिकांश गणना १०/१० वर्षको अवधिमा हुने र नयाँ तथ्याङ्क आउनासाथ आधार वर्षमा परिमार्जन गर्न समेत सहज हुने रेग्मीको भनाइ छ ।

यस परिवर्तनबाट राष्ट्रिय लेखा तथ्याङ्कलाई समय सापेक्षा, भरपर्दो, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरका तथ्याङ्कसँग तुलनायोग्य बनाएको विभागको दावी छ । अर्थतन्त्रमा देखिएका नयाँ आर्थिक क्रियाकलाप वा छुट भएका क्रियाकलापलाई समावेश गरिएको छ ।

पछिल्लो गणना तथा सर्वेक्षणबाट प्राप्त नतिजाको उपयोग गरिएको समेत विभागले जनाएको छ । अहिलेका तथ्याङ्कमा उपभोक्ता समितिदेखि ट्यूसन तथा कोचिङ सेन्टरसमेत अब अर्थतन्त्रको आकारमा समेटिएका छन् ।

विभागका अनुसार आधार वर्षमा गरिएको परिवर्तनका कारण अर्थतन्त्रका नयाँ-नयाँ गतिविधिहरु पनि राष्ट्रिय लेखामा आवद्ध हुन पायो । यसबीचमा अघिल्लो आधार वर्षको तुलनामा रियल इस्टेटको वृद्धि ४७.९७ प्रतिशत देखिएको छ । शिक्षा क्षेत्रमा समेत वृद्धि भएको छ । तर, स्वास्थ्य क्षेत्रमा भने जीडीपी ऋणात्मक देखिएको छ । अनलाइनखबर