चिनियाँ विकासको फाइदा कसरी लिने भन्नेकुरा हाम्रै क्षमतामा भर पर्ने राजदूत पाण्डेको ठहर
2021-03-06 17:00:20CRI
Share with:

चीनका दुई ठूला अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनुभएका बेइजिङस्थित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले चीनको विकास अवधारणाबाट फाइदा लिने कुरा सम्बन्धित मुलुकहरूको आफ्नै इच्छाशक्ति र क्षमतामा निर्भर रहने बताउनुभएको छ।

शुक्रबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरु भएको ‘दुई ठूला अधिवेशन’ अन्तर्गत राष्ट्रिय जनकांग्रेसको सम्मेलनमा प्रधानमन्त्री ली खछ्याङले प्रस्तुत गरेको सरकारी कार्य प्रतिवेदनमा ६ प्रतिशत गार्हस्थ उत्पादनको प्रक्षेपण गरिएको थियो। प्रतिवेदन सुनेपछि राजदूत पाण्डेले भन्नुभयो, ‘गरिबी निवारण, कोभिड नियन्त्रण, सी चिनफिङ विचारधारामा आधारित शान्ति र विकासका लागि बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूलाई चीनले द्रूत गतिले अघि बढाउने देखिन्छ।’

विश्व बजारमा चिनियाँ सामानको गुणस्तर उकास्ने विषयमा केन्द्रित भएको चीनले बीआरआई अन्तर्गत सबैजसो महादेश र क्षेत्रहरूमा कनेक्टिभिटीको लक्ष्य राखेको र ‘डिजिटल डिप्लोमेसी’मा प्रवेश गरेको पाण्डेको बुझाई छ। उहाँले भन्नुभयो, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई अगाडि बढाउने ढंगले चीन अघि बढ्दैछ, चिनियाँ सहयोग लिने हो भने हामीले आफैं अग्रसरता लिनुपर्छ। नत्र चीनले दिएर पनि हामी लिन नसक्ने अवस्थामा पुग्छौं।’

छिमेकी मुलुकहरूसँग शान्तिपूर्ण सहकार्य गर्दै विकास निर्माणमा केन्द्रित हुने चिनियाँ अबको नीतिलाई बुझ्ने हो भने नेपाल सहित छिमेकी मुलुकहरूले  अर्थतन्त्रको निर्माणमा व्यापक सुधार गर्नसक्ने पाण्डेले बताउनुभयो।

गत वर्ष सन् २०२० मा चीनको गार्हस्थ उत्पादनको कूल परिमाणको वृद्धि दर २.३ प्रतिशत थियो। महामारीले प्रभावित वर्षमा पनि चीनले १ करोड १८ लाख ६० हजार नयाँ रोजगारी सिर्जना गरेको बताएको छ। वर्षान्तसम्ममा बेरोजगारी दर ५.२ प्रतिशतमा झारेको बताउँदै चीनले सन् २०२१ मा १ करोड १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरेको छ। चीनमा सन् २०२० मा ५५.१ लाख ग्रामीण जनसंख्या पूरै गरिबीमुक्त भएको छ भने ५२ वटा गरिब जिल्ला गरिबीमुक्त भएका छन्। यसरी पूर्ण गरिबीबाट उम्किएको घोषणा चीनले हालै गरिसकेको कान्तिपुर अनलाइनले लेखेको छ।  

चिनियाँ राजनीतिक जीवनमा महत्वपूर्ण मानिने जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र जनकांग्रेसको (एनपीसी) बैठक बिहीबार र शुक्रबार लगातार शुरू भएका हुन्। अधिवेशन एक/एक सातासम्म चल्ने कार्यक्रम छ। सीपीपीसीसी विभिन्न पेशा व्यवसाय क्षेत्रबाट आएका प्रतिनिधिहरूको सम्मेलन हो भने पिपुल्स कांग्रेस चिनियाँ वार्षिक नीति तथा कार्यक्रम, बजेट र आगामी लक्ष्य निर्धारण गर्ने राजनीतिक सर्वोच्च निकाय हो।

तेह्रौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको चौथो अधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री लीले कार्य प्रतिवेदनमार्फत् आगामी विकास लक्ष्यहरू प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो,‘शहर र ग्रामीण क्षेत्रमा १.१ करोडभन्दा बढी थप रोजगारी सिर्जना गरिने छ। उपभोक्ता मूल्य वृद्धि दर लगभग ३ प्रतिशतमा राखिने छ र खाद्यान्न उत्पादन परिमाण ६.५ खर्ब केजीभन्दा बढी पुर्याइनेछ।’