नेपाल–चीन सीमास्थित हिल्सा नाका नखुल्दा मानसरोवर–कैलाश तीर्थयात्री प्रभावित
2021-03-06 17:02:44CRI
Share with:

झन्डै एक वर्षदेखि नेपाल–चीन सीमास्थित हिल्सा नाका बन्द हुँदा माथिल्लो हुम्लाको जनजीवन कष्टकर बनेको छ। मानसरोवर–कैलाश तीर्थयात्रा पनि प्रभावित बनेको छ। गत वर्ष चैत पहिलो सातादेखि कोरोना महामारीका कारण अवरुद्ध हिल्सा नाका पुसयता हिमपातका कारण बन्द छ । नाका बन्द हुँदा नाम्खा गाउँपालिकामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न र निर्माण सामग्रीको अभाव हुन थालेको छ । ‘पूरै गाउँपालिका वर्षौंदेखि चिनियाँ खाद्यान्नमा निर्भर छ,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले भन्नुभयो, ‘नाका बन्द भएपछि स्थानीयलाई जीविकोपार्जनमा समस्या भयो ।’ उहाँका अनुसार यातायात सुविधा नहुँदा स्थानीयलाई सदरमुकाम सिमीकोटबाट खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या छ ।

नाम्खा गाउँपालिकाका प्राय: युवा बर्सेनि मजदुरीका लागि ताक्लाकोट जान्छन्।  नाका नखुल्दा हुम्लाको पर्यटन व्यवसाय पनि संकटमा परेको छ । गत वर्षसम्म प्राय: भारतीय तीर्थयात्री हुम्लाको बाटो हुँदै मानसरोवर–कैलाश तीर्थयात्रामा निस्कन्थे। भारतीय तीर्थयात्रीकै सुविधाका लागि ठूलो लगानीमा सिमीकोट र हिल्सामा झन्डै ९० वटा होटल खुले पनि यो वर्ष कारोबार ठप्प छ । नाका नखुल्दा हिल्साका झन्डै ५० होटल र ४० पसल बन्द छन्। कोरोनाको त्रास घटेकाले नाका छिटो सञ्चालन गर्न सरकारसँग आग्रह गरिए पनि बेवास्ता भएको उहाँको गुनासो छ। नाका बन्द हुँदा हुम्लाको व्यापार व्यवसाय पनि ठप्प बनेको उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताउनुभएको कान्तिपुरमा खबर छ।