वर्षौं पहिला चोरिएको एउटा महत्वपूर्ण मूर्ति अमेरिकाद्वारा नेपाललाई फिर्ता
2021-03-06 17:06:39CRI
Share with:

अमेरिकी सरकारले नेपालबाट चोरिएको एउटा महत्वपूर्ण मूर्ति नेपाललाई नै हस्तान्तरण गरेको छ ।  ३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायण (वसुदेव–कमलाजा) को मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति नेपाली दूतावासमै एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।  उक्त ऐतिहासिक मूर्ति पाटनस्थित मन्दिरको हो । उक्त मूर्तिलाई १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्स  मा राखिएको थियो ।  नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाइको छ ।  दूतावासले युनेस्कोको आवश्यक प्रक्रिया पुरा गरेर नेपाल ल्याइने जनाएको छ ।