सन् २०२१ लाई पर्दामा उतार्ने हलिउड सिनेमा
2021-03-10 09:45:28cri
Share with:

-----------अजय अलौकिक

सन् २०२१ लाई पर्दामा उतार्ने हलिउड सिनेमा_fororder_u=1271040108,339521242&fm=15&gp=0

गत साल फैलिएको कोरोनाभाइरस (कोभिड-१९) महामारीले विश्वलाई अझै आक्रान्त पारिरहेको छ। भाइरसको खोपको प्रतीक्षारत विश्वलाई हाल यही भाइरसकै प्रजातिको विकासले झनै अप्ठेरोमा पारेको छ। यो आजको यथार्थ हो। वास्तविकता हो। तर वास्तविकताभन्दा धेरै परको काल्पनिक कथा-साहित्य र चलचित्र दुनियामा पनि भोलिको दिनमा के कस्तो हुनेछ भन्‍ने अनुमान या त्यो कल्पनालाई उतार्ने गरिन्‍छ। अनि यस्ता कतिपय कल्पनाहरू सत्य पनि हुन जान्‍छन् भने कतिपय असम्भव झैं लाग्छ। तापनि यस्ता रचनाले पाठक तथा दर्शकलाई एउटा फरक संसारमा पुर्‍याउँछ।

भनिन्‍छ नि जहाँ पुग्दैन रवि त्यहाँसम्म नि पुग्छन् कवि। हो, मानिसको कल्पना शक्ति अथाह छ, अपार छ। ओस्कार विजेता स्टेभन सौडबर्गद्वारा निर्देशित तथा उत्कृष्ट कलाकारहरूद्वारा अभिनित चलचित्र ‘कन्टेजन’ ले संयोगले गत वर्षको मानिस मानिसबीचको सम्पर्कबाट सर्ने कोरोना भाइरस महामारीको कथा पस्केको थियो। सन् २०११ मा प्रदर्शित यो चलचित्र त्यो बेला बक्स अफिस हिट भएको थियो नै तर गत वर्ष एचबिओ, एमाजोन, नेटफ्लिक्सलगायत ईन्टरनेटमा धेरै खोजिएको फिल्ममध्ये एक बन्‍न पुगेको थियो।

आजभन्दा दश वर्षअघि यो चलचित्र हेर्दा भोलि गएर संसार यति भयावह होला र भन्‍ने प्रश्न उब्जिएको थियो साथै एक प्रकारले हरर फिल्म हेरेझैं भएको थियो। तर कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएको चीनको ऊहान, ईटाली र संयुक्त राज्य अमेरिका, भारत र ब्रजिललाई हेर्दा आज त्यो सामान्य देखिन्‍छ। यसरी कतिपय चलचित्रमा गरिएको भविष्यको कल्पना सही पनि भएका छन्।

यसै गरी भविष्यलाई उतारिएका या टाईम मेसिनसम्बन्धित् चलचित्रहरू थुप्रै नै बनेका छन्। एलियन सिरिज, टर्मिनेटर सिरिज, स्टार ट्रेक सिरिज, ब्लेड रनर, ब्याक टू दि फ्यूचर २, अवतार यस्ता केही नामहरू हुन्।

यसबाहेक चालु वर्ष अर्थात् सन् २०२१ लाई पनि ठूलो पर्दाभित्र दर्शाएका केही चलचित्रहरू छन्। ‘कन्टेजन’ मा हात मिलाउँदा, खोक्दा एकबाट अर्कोमा भाइरस प्रसार हुने देखाइएको थियो भने सन् २०१८ मा प्रदर्शित सन् २०२०-२०२१ को समयलाई उतारेको चलचित्र ‘अ क्वाइट प्लेस’मा कुनै आवाज गर्न नहुने देखाइएको छ। हाल मानिस मानिस बीच भौतिक दुरी बनाउनु पर्ने अवस्थामा कुनै किसिमको आवाज र स्वर पनि निकाल्न नपाइने हो भने हामी मानिसको हालत के कस्तो हुने होला।

सन् २०२१ लाई पर्दामा उतार्ने हलिउड सिनेमा_fororder_src=http___s.pacn.ws_640_vj_a-quiet-place-4k-ultra-hd-bluray-567599.1_pbla5e&refer=http___s.pacn

सन् २०१८ को बक्स अफिस हिट जोन क्राजिन्स्कीद्वारा निर्देशित तथा अभिनित चलचित्र ‘अ क्वाइट प्लेस’ हरर जन्रको फिल्म हो। यसमा कुनै पनि प्रकारको आवाजमाथि एलियनले आक्रमण गर्ने देखाइएको छ। प्रसिद्ध अभिनेत्री एमली ब्ल्न्टद्वारा अभिनित यस चलचित्रमा पात्रहरू थोरै छन्। रियल लाईफ पार्टनर जोन क्राजिन्स्की र एमली ब्ल्न्टले रिलमा पनि सोही भूमिका निभाएका छन्।

चलचित्रमा उनीहरूको सानो छोराले बोकेको खेलौना हवाइजहाजबाट आवाज निस्किएलगत्तै एलियनले एक निमेषमा झम्टिएको देखाइन्‍छ। पछि सोही ठाउँमा बनाइएको टूमस्टोन वा स्मृति पेटिकामा सन् २०१६-२०२० लेखिएको छ जसबाट यो चलचित्रले सन् २०२० र २०२१ (को काल्पनिक अवस्था)लाई प्रस्तुत गरेको छ। ८९ दिनदेखि ४ सय बढि दिनसम्मको घटनामा उनीहरूको सानो परिवारको आवाजविहीन जीवन सङ्घर्ष शून्यताबीच नयाँ सन्तानको जन्म र जिजीविषा देखाइएको छ। यो चलचित्रमा पृथ्वीमा हलचल गर्ने समस्त प्राणी जगत नै खतरामा परेको छ साथै एलियनविरूद्धको प्रतिकार र त्यसमाथि जीतको सम्भावना पनि झल्काइएको छ।

यसैगरी, सन् २०१३ मा प्रदर्शित ‘प्यासिफिक रिम’मा पनि सन् २०२० मा एलियनसँग लड्नका लागि भिमकाय रोबोटको निर्माण गरेको देखाइएको छ। के यस्तो अवस्था आउला त? उपन्यास, कमिक्स र हलिउड चलचित्रमा एलियनको चर्चा धेरै नै पाइन्‍छन्। तर आममानिस यो एलियनबारे अनभिज्ञ नै छन्। सायद डोनाल्ड ट्रम्पको ठाउँमा हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिमा विजयी भएको भए यसबारे खुलासा गर्ने थिइन्। कतै समाचारमा, उनले राष्ट्रपति निर्वाचित भए नासा (अमेरिकी नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन) र एलियन तथा अन्तरिक्षसम्बन्धको रहस्य खोल्ने वाचा समेत गरेकी थिइन्। तर आजसम्म पनि आममानिस यस्तै काल्पनिक कथा र चलचित्रमा रमाइरहेका, अल्झिरहेका छन्।

यस्तै अन्तरिक्ष, आकाश गङ्गा सम्बन्धित अर्को एउटा चलचित्र छ, जहाँ सन् २०२१ लाई उतारिएको छ। एउटा क्षुद्रग्रहले पृथ्वीलाई ध्वस्त पार्न लागेको अन्तिम समयको अवस्था बयान गरिएको यो चलचित्रको नाम ‘सिकिङ अ फ्रेण्ड फर दि एण्ड अफ दि वर्ल्ड’ हो। सन् २०१२ मा प्रदर्शित यो रोमान्टिक फिल्म लोरिन स्काफारियाद्वारा निर्देशित पहिलो चलचित्र हो। ‘डिसपिकेबल मी’ सिरिजमा ‘ग्रु’को क्यारेक्टरलाई स्वराङ्कन गरेका स्टीभ करैल र प्रसिद्ध अभिनेत्री केर नाइट्लीद्वारा अभिनित यो चलचित्रले बक्स अफिसमा भने कुनै धमाका गर्न सकेन।

यही आलेखको सिलसिलामा यो फिल्म पनि हेरियो, फिल्म राम्रै लाग्यो। आशावादी सोचसँगै रोमान्टिक कथावस्तुमा आधारित रहेछ। (समीक्षकको रूपमा पाँचमा तीन लौजा।) त्यही हो, हाल पृथ्वीमा यो क्षुद्रग्रह खस्ने कुरा नौलो रहेन। तर पृथ्वी बराबर या तुलनामा केही सानो ठूलो खस्ने या जोतिने हो भने अवश्य पनि मानव जातिका लागि त्यो अन्तिम दिन नै हुने छ। माटिल्दा नामक क्षुद्रग्रह पृथ्वीमा ठोकिने भनिएको अघिको लगभग महिना दिनको कथा यसले बोकेको छ। फिल्ममा कफ सिरप औषधिको म्याद २-१२-२१ देखाइएको छ भने तीन महिनाअघि प्राप्त पत्रमा मिति २०२०-८-०१ देखाइएको छ। यसरी यो फिल्ममा सन् २०२१ मा पृथ्वी ध्वस्त हुनगइरहेको कथा प्रस्तुत गरिएको छ।

यहाँ फिल्मको सार या समीक्षा होइन सन् २०२१ लाई पर्दामा उतारेका केही चलचित्रको चर्चा मात्र गर्न चाहेको हो। यसरी सन् २०२१ लाई हलिउडमा मात्रै होइन विभिन्‍न देश र भाषाका साथै एनिमेटेड चलचित्रहरूमा पनि चित्रण गरेका छन्। साथै यहाँ चर्चा गरिएका बाहेक पनि सन् २०२१ वरिपरिका कथावस्तुका अरू हलिउड र अङ्ग्रेजी चलचित्रहरू छन्। गुगल्ड गरेमा आँखैसामु यस किसिमका जानकारी तुरून्त पाउनसकिन्‍छ।

सन् २०२१ लाई पर्दामा उतार्ने हलिउड सिनेमा_fororder_src=http___img31.mtime.cn_mg_2012_09_01_162350.73818442&refer=http___img31.mtime

यसबाहेक यहाँ सन् २०२१ लाई उतारेको अर्को एउटा चलचित्रको चर्चा नगर्ने हो भने यो लेख अपूरो हुने छ, सायद। यो चलचित्रको नाम हो, ‘जोनी निमोनिक’। म्याट्रिक्स सिरिजका सुप्रसिद्ध अभिनेता किआनु रिभ्सद्वारा अभिनित भएका कारण यो चलचित्रलाई जोड्न खोजिएको भने होइन। स्पिडबाट आफ्नो पहिचान बनाएका उनै किआनुको लिटल बुद्धको केही सुटिङ नब्बेको दशकको पूर्वाद्धमा काठमाण्डुमा पनि गरिएको थियो। उनै किआनु अभिनित सन् १९९५ मा प्रदर्शित यो जोनी निमोनिक चलचित्रमा आजको प्रविधि देखाइएको छ।

डेटा ट्रान्सफर गर्नु पर्ने तर चोरीको डर भएकोले यो चलचित्रमा मानिसको मस्तिष्कलाई प्रयोग गरिएको छ। अमेरिकाबाट सन् २०२१ जनवरी १५ तारिख चीनको बेइजिङमा डेटा लिनका लागि ट्रान्सपोर्टरको रूपमा मानिस अर्थात् नायक पुगेको देखाइन्‍छ। बिग डेटा अनि साइबर फ्रड, साइबर ल, साइबर सेनाको चर्चा परिचर्चाको यो युग अनि ह्याक्को प्रचुर सम्भावनासँगै आफ्नो डेटाको गोपनीयता र संरक्षणको खाँचो देखिएको यो समयमा यो फिल्मले भने त्यसै बेला यस्ता चोरीचकारीबाट बच्न मानिसको मस्तिष्कमा साइबरनेटिक मस्तिष्क इम्प्लान्ट गरी डेटा ट्रान्सफर गर्ने सम्बन्धमा कथा बुनेको छ।

यसरी कथाकार, परिकल्पनाकारले आफ्नो रचनामा भविष्यको कल्पना गर्नु कुनै नौलो कुरा होइन। तापनि यस्तो कल्पना गर्नु अवश्य पनि एउटा साहसिक कुरा हो। जसरी चलचित्र ‘जोनी निमोनिक’ले २५ वर्ष अघि नै प्रविधिको विस्तारको चर्चा गरेको छ।

हाल साधारण सानो कार्डमा समेत टेराबाइट स्टोरेज गर्न सकिने र पाँचौँ पुस्ताको नेटवर्क फाइभ जीको विकास भइसकेको छ तापनि मानिसको शरीरमा डेटा स्टोरेज गर्ने कुरा अझै टाढै छ। तापनि धेरै अघिको चलचित्र होस् या केही वर्षअघिको मात्रै किन नहोस् भोलि गएर संसार यस्तो हुने छ या यस्तो घटना घट्ने छ भनेर देखाइएका चलचित्रहरू हेर्नु रञ्जनीय नै हुने छ। यही अनुरूप यहाँ सन् २०२१ लाई पर्दामा उतारेका केही चलचित्रको चर्चा गरिएको हो।

(सर्वप्रथम इकागजमा माघ १०, २०७७ मा प्रकाशित)