विराटनगर विमानस्थल विस्तार गर्न १२६ विघा जग्गा अधिग्रहण गरिँदै
2021-04-06 18:03:41cri
Share with:

विराटनगर विमानस्थल विस्तार गर्न १२६ विघा जग्गा अधिग्रहण गरिँदै_fororder_Nepali News 2

विराटनगर विमानस्थलको क्षमता विस्तार गर्न १२६ विघा निजी जग्गा अधिग्रहण गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको क्षमता विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको सेतोपाटी अनलाइनले लेखेको छ।

अधिग्रहण गरिने क्षेत्रमा जग्गा रहेका जग्गा धनीलाई मुआब्जा दाबी गर्न आज सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले सार्वजनिक सूचना जारी गरेका छन्। यो जग्गा अधिग्रहणका लागि कम्तीमा दस अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ।

मुआब्जाको दाबी आएपछि यसको वास्तविक आँकडा आउने विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ। विमानस्थलको क्षमता विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने बनाउन प्राधिकरणले स्थानीय तह तथा प्रदेश सरकारसँगको साझेदारीमा यो परियोजना अघि बढाउन खोजेको छ।

बि.सं. २०१५ सालमा बनेको यो विमानस्थल हाल १२० विघामा फैलिएको छ। १५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा हाल एटिआर–७२, बम्मार्डियरको क्यू ४०० सिरिजका जहाज अवतरण हुन्छन्।

आन्तरिक विमानस्थलमा व्यस्तमध्येको उक्त विमानस्थलको क्षमता विस्तार गरी क्षेत्रीय उडान गर्न प्राधिकरणले यो आयोजना अघि बढाएको हो। क्षमता विस्तारपछि एयरबसको ए ३१९ सिरिजको जहाज अवतरण गर्नसक्ने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो। विमानस्थलमा २५ सय मिटरको धावनमार्ग बन्नेछ भने नयाँ टर्मिनल भवन, पार्किङ–वे निर्माण हुने छन्। जग्गा बाहेक विमानस्थलको क्षमता विस्तारमा १३ अर्ब लगानी आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ।