नेपालको कुल जनसंख्याभन्दा बढीसँग बैंक खाता
2021-04-06 18:04:33cri
Share with:

नेपालको कुल जनसंख्याभन्दा बढीसँग बैंक खाता_fororder_Nepali News 3

पछिल्लो समय नेपालमा वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ। वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो। आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका राजधानी दैनिक पत्रिकाले लेखेको छ।

गत एक वर्षको अवधिमै ३६ लाख ६० हजार १ सय ८० जनाले निक्षेप तथा कर्जा खाता खोलेका छन्। यसैगरी, १६ लाख २ हजार जनाले कर्जा खाता खोलेको राष्ट्र बैंकले जनाएको छ। गत आवको फागुनसम्म २ करोड ९६ लाख १३ हजार ७ सय २७ वटा निक्षेप तथा कर्जा खाता खोलिएको थियो।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आम नागरिकमा वित्तीय पहुँच विस्तार पु¥याउन घरदैलो कार्यक्रमदेखि विभिन्न आकर्षक योजनासमेत ल्याएका छन्। सोही कारण पनि बैंकमा खाता खोल्नेको संख्या बढ्दै जान थालेको हो। हाल खोलिएको बैंक खाता नेपालको कुल जनसंख्याभन्दा झन्डै ४३ लाख ७६ हजार ८ सय ९१ जनाले बढी हो। केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ९५ हजार ५८ जना रहेको छ।

कुल जनसंख्याभन्दा धेरै बैंक खाता भए पनि सबै नेपाली नागरिकसमक्ष बैंक खाता पुग्न भने सकेको छैन। एक व्यक्तिले बैंक तथा वित्तीय संस्था नै पिच्छे फरक खाता खोल्न पाउने व्यवस्था छ। त्यसैले पनि जनसंख्याभन्दा बैंक खाता बढी भएको राष्ट्र बैंकको भनाइ छ।