नेपाली फुटबल खेलाडी किरण चेम्जोङ एसियाकै उत्कृष्ट
2021-04-06 18:05:24cri
Share with:

नेपाली फुटबल खेलाडी किरण चेम्जोङ एसियाकै उत्कृष्ट_fororder_Nepali News 4

एसियाली फुटबल महासंघ (एएफसी) ले महादेशकै साताका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक गरेको छ। एएफसीको वेबसाइटमा गरिएको भोटिङमा ५५.६९ प्रतिशत मत प्राप्त गर्दै नेपालका किरण चेम्जोङ एसियाकै उत्कृष्ट खेलाडी भएको एएफसीले सोमबार जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

गोलकिपर किरण चेम्जोङले आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई पहिलो उपाधिका रूपमा थ्री नेसन्स कप जिताए, जुन घरेलु भूमिमा राष्ट्रिय टिमले ३७ वर्षपछि हात पारेको उपाधि हो।

त्यसको एक दिनअघि किरणले भारतको माथिल्लो श्रेणीको आई लिगमा उत्कृष्ट गोलकिपरको ‘गोल्डेन ग्लोभ्स अवार्ड’ जितेका थिए। त्यसको एक सातामै अर्को सफलताका रूपमा उनी ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ भएका छन्। यो स्तरको सफलता हात पार्ने उनी पहिलो नेपाली खेलाडी हुन्।

साउदी अरेबियाका फरवार्ड सलेह अल सेहरी (२०.७२) दोस्रो र इराककी राइट–ब्याक अला अली मवाई (१०.१६) तेस्रो भएका छन्। उनीहरूसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहमद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजकिस्तानका अलिसेर जालिलोभ छन्। ‘एसियाकै साताका उत्कृष्ट खेलाडीमा मेरो नाम आउँछ र जित्छु भन्ने सोचेको थिइनँ। हाम्रोजस्तो देशका खेलाडीले खासै अवसर पाउँदैनन्। यसअघि नेपाली खेलाडी मनोनयनमै परेको थिएन। त्यसैले भोटिङमा जित्दा अविश्वसनीय नै भयो,’ थ्री नेसन्स कपका तीनमध्ये दुई खेलमा विपक्षीलाई गोल गर्ने अवसर नदिएका ३१ वर्षीय चेम्जोङले खुसी साटे, ‘हाम्रो पनि सम्भावना छ भन्ने देखियो। मैले सबैभन्दा धेरै भोट पाउनु भनेको नेपाली फुटबलप्रेमीको माया हो। सानो देश भए पनि हामी एकसाथ गर्न सक्छौं भन्ने भएको छ।’

भियतनामको न्होम्पेनमा सन् २००८ मे २४ मा मकाउविरुद्ध भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेयता उनले राष्ट्रिय ६९ खेल खेलेका छन्। ‘यो सफलता मेरो जीवनकै महत्त्वपूर्ण उपलब्धि हो। मैले करिअरलाई बलियो बनाउँदै लगेको छु भन्ने महसुस भएको छ। अझै केही गर्छु भन्ने ऊर्जा थपिएको छ। यसले नयाँ पुस्ताका लागि पनि राम्रो अवसर खोल्छ जस्तो लागेको छ,’ उनले भने। क्लब फुटबलमा पाँच वर्षयता माल्दिभ्स र भारतका लिग निरन्तर खेलिरहेका चेम्जोङले एसियाकै राम्रो लिग खेल्ने इच्छा रहेको बताए। उनले नेपालको ए डिभिजन लिग (थ्रीस्टार), माल्दिभ्सको धिवेही प्रिमियर लिग (टीसी स्पोर्ट्स) र भारतको आई लिग (मिनेरवा पन्जाब) जितेका छन्। र, उनी तीन देशको लिग जित्ने पहिलो नेपाली फुटबलर हुन्। उनले बंगलादेशको लिग पनि खेलेका छन्।

पछिल्लो सिजन आई लिगमा तीनपल्ट ‘हिरो अफ द म्याच’ भएका चेम्जोङलाई एसियाकै साताका उत्कृष्ट खेलाडीमा मनोनयन गर्दा एएफसीको वेबसाइटमा लेखिएको थियो, ‘नेपाल यस इन्टरनेसनल विन्डो’ (अन्तर्राष्ट्रिय खेलका लागि छुट्याइएको अवधि) मा सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको थियो। तर, आत्मविश्वास वृद्धि गर्दै त्यसलाई अन्त्य गर्‍यो र बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो। त्यो सफलताको केन्द्रमा गोलकिपर एवं कप्तान किरण चेम्जोङ रहे, जसले तीन खेलमा (दुई खेलमात्रै अन्तर्राष्ट्रिय) एक गोलमात्र बेहोरे र नेपालको जित सुनिश्चित गर्दै विराज महर्जनको बिदाइ भव्य बनाइदिए।’

नेपालले दशरथ रंगशालामा गत साता सम्पन्न थ्री नेसन्स कपको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो। समूह चरणमा किर्गिस्तान यू–२३ र बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा आएर ८ खेलदेखिको गोल र जितविहीन यात्रालाई पूर्णविराम लगाएको थियो।