यस वर्ष सगरमाथा आरोहणको तयारी उत्साहजनक
2021-04-12 16:02:10cri
Share with:

यस वर्ष सगरमाथा आरोहणको तयारी उत्साहजनक देखिएको छ। पर्यटन विभागले अबको वसन्त ऋतुमा हुने ६ हजार ९ सय २० मिटर अग्लो टुक्चे हिमालदेखि ८ हजार ८ सय ४८.८६ मिटर अग्लो सगरमाथासहित १० वटा हिमालका लागि शुक्रबारसम्म ४ सय १९ जनालाई आरोहण अनुमति दिएको छ । विभागका अनुसार एक महिनामा ३३ करोड ९९ लाख ५० हजार ४ सय ९६ रुपैयाँ (२९ लाख ९ हजार १ सय डलर) सलामी दस्तुर संकलन गरेको छ । कान्तिपुर अनलाइनका अनुसार कोभिड–१९ का कारण थिलथिलो बनेको नेपालको पर्यटन क्षेत्रका लागि यसलाई सुखद थालनी मानिएको छ ।

वसन्तकालीन हिमाल आरोहण अभियानअन्तर्गत खुम्बु क्षेत्रमा पर्ने ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्से हिमालका लागि फागुन २५ गते विभागले पहिलो आरोहण अनुमति जारी गरेको थियो । शुक्रबारसम्म विभागले ४९ वटा आरोहण दललाई अनुमति दिइसकेको छ । जसमा ३ सय २९ जना पुरुष र ९० जना महिला छन् ।

सगरमाथामा २ सय ४४, लोत्सेमा ५५, अन्नपूर्णमा ४४, धौलागिरिमा ३०, नुप्सेमा २३, मकालु र तिलिचोमा ८/८, पुमरीमा ५ र मनास्लु र टुक्चेमा १/१ जनालाई आरोहण अनुमति दिइएको छ । विभागकी निर्देशक मीरा आचार्यका अनुसार सगरमाथा आरोहण गर्न ४ जना नेपालीले अनुमति लिएका छन् । आरोहण अनुमति लिने अरू विदेशी हुन् ।