नेपालको मिनी ग्रेटवालमा पर्यटकको आकर्षण
2021-04-12 16:03:08cri
Share with:

बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताउनुभयो। आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

बाह्य पर्यटक खासै देख्न नपाए पनि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएकाले बन्दीपुर पुग्ने जो कोही पर्यटक मिनी ग्रेटवाल पुगेर मात्रै फर्किने गरेको उहाँले बताउनुभयो। पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु सात करोड विनियोजन भएकाले छिट्टै टेण्डरका लागि प्रक्रिया अघि बढाइने छ ।

नेपाल सरकारको रु चार करोड ५५ लाख नेपाल सरकारको र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ। मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने बन्दीपुर गाउँपालिकका अध्यक्ष पूर्ण थापाले जानकारी दिनुभयो ।

टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाइदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।