वसन्तकालीन आरोहणका लागि सगरमाथा आधारशिविरमा चहलपहल
2021-04-13 17:11:11cri
Share with:

वसन्तकालीन आरोहणका लागि सगरमाथा आधारशिविरमा चहलपहल बढेको छ । आरोहणका लागि टेन्ट राख्ने काम सुरु भइसकेको छ भने अधिकांश टोली लुक्लातर्फ लागिसकेका छन् । कोभिड–१९ का कारण गत वर्ष सगरमाथा आरोहण स्थगित भएको थियो । यस वर्ष कोभिडको चुनौतीकै बीच आरोहण हुन लागेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का सात जना आइसफल डाक्टरले खुम्बु आइसफलमा बाटो बनाएर भर्‍याङ टाँग्ने काम सकेका छन् । उनीहरूले दोस्रो शिविर (क्याम्प टु) सम्मको बाटो बनाउने काम धमाधम गरिरहेको एसपीसीसीले जनाएको छ । क्याम्प टु समुद्री सतहदेखि ६ हजार ४ सय मिटरको उचाइमा पर्छ । केही दिनमै क्याम्प टुसम्म बाटो खोल्ने काम सम्पन्न हुनेछ ।

क्याम्प टुदेखि माथि शिखरसम्म डोरी टाँग्ने काम आरोही शेर्पाहरूले गर्छन् । गत शुक्रबारसम्म पर्यटन विभागमा सगरमाथा आरोहणका लागि २४ समूहले अनुमति लिएका छन् । जसमा २ सय ४४ जना आरोही छन् । अनुमति लिने नेपाली आरोही दुई समूहमा पाँच जना रहेको पर्यटन विभाग पर्वतारोहण शाखाकी प्रमुख मीरा आचार्यले बताइन् । अझै आरोहण अनुमतिका लागि केही समूह आउन सक्ने अनुमान छ ।

सन् २०१९ मा ४४ समूहका ३ सय ८१ जना आरोही र ६ सय ४२ जना आरोहीका सहयोगीले अनुमति लिएका थिए । त्यसमध्ये २ सय ८० आरोही र ३ सय ६४ जना सहयोगीले सगरमाथाको सफल आरोहण गरेका थिए । आठ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।

कान्तिपुर अनलाइनका अनुसार गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा बढी २४ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता शेर्पा २५ औं पटकको आरोहणका लागि आधारशिविर पुगिसकेको जनाइएको छ। सेभेन समिट प्रालिमा आरोहीको सहयोगीका रूपमा काम गर्दै आएका कामीरिताको यस वर्षको आरोहणलाई विश्वभरका सञ्चारमाध्यम र साहसिक पर्यटन क्षेत्रले महत्त्वका साथ हेरेका छन् । सेभेन समिटकै आरोहण दलबाट यस वर्ष बहराइनका राजकुमारको टोलीले सगरमाथा आरोहण गर्ने योजना छ। यस वर्ष पहिलो पटक मधेसको प्रतिनिधित्व गर्दै जनकपुरका पान पसले युवा रञ्जितकुमार साह सगरमाथा आरोहणका लागि जाँदै छन् ।

११ महिना पान पसल गरेर १ महिना साइकल यात्रामा निस्कने गरेका साहले दुई वर्षअघि आमादब्लम हिमालको आरोहण गरेका थिए । ह्याप्पी फिट कम्पनीको आरोहण दलमा आबद्ध भई उनी सगरमाथा आरोहणका लागि जान लागेका हुन् । यही साताभित्र साह सगरमाथा आधारशिविरतर्फ लाग्ने कम्पनीका प्रमुख ङिमादेन्डी शेर्पाले बताए । सन् २०१४ मा हिमपहिरो, सन् २०१५ मा भूकम्पले सगरमाथा आरोहण थलिएको थियो । त्यसपछिका तीन वर्षमा ब्युँतिन नपाउँदै कोभिड–१९ को मारमा पर्‍यो । यस वर्षदेखि पुनः ब्युँतिने आशा पर्यटन व्यवसायीले गरेका छन् ।