ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
2021-04-13 17:12:23cri
Share with:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो। १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने उहाँले बताउनुभयो।

स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भन्नुभयो, ‘उपत्यकाका मात्र ७/८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’

अनलाइनखबरका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो।

अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताउनुभयो। संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको बताउँदै उहाँले विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको बताउनुभयो। यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताउनुभयो।