चिनियाँ बजारमा नेपाली चियाको माग उच्च तर निर्यात कम
2021-06-20 15:46:20cri
Share with:

चिनियाँ बजारको मागअनुसार नेपालमा उत्पादित तयारी अर्थाेडक्स अर्गानिक चिया पोहोरदेखि नै निर्यात हुन सकेको छैन । माग राम्रो भएपनि कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उच्च गुणस्तरको हजारौं किलो चिया उद्योगमै स्टक छ। उद्योगले बजारको मागअनुसार तयारी चियाको गुणस्तर निर्धारण गर्छन्। चिनियाँ बजारका लागि प्रायः गोल्डेन र ग्रिन टी उत्पादन गरिन्छ । तर, गतवर्ष चीनबाटै कोरोना महामारी फैलिएको र त्यसपछि नेपालसम्मै असर आइपुगेपछि तयारी चिया निर्यातमा कठिनाई भएको हो। अन्य देशमा बिस्तारै चिया निर्यात सहज भएपनि चीनमा गतवर्षदेखि नै चिया लैजान नसकेको उद्योगी बताउँछन् ।

चीनमा नेपाली चियाको राम्रो माग रहेपनि निर्यात गर्न भने नसकेको जस्बिरे अर्गानिक चिया उद्योगका सञ्चालक सरद सुब्बाले बताउनुभयो। ‘चिनियाँ बजारकै लागि तयार गरिएको चिया पोहोरदेखि नै निर्यात हुन नसक्दा उद्योगमै थन्किएको छ,’ उहाँले भन्नुभयो, ‘इमेलमार्फत् दिनहुँजसो माग आइरहेको छ तर तयारी चिया पठाउन चाहिँ सकिएको छैन ।’  

नागरिकन्यूज डटकमका अनुसार इलामका दर्जभन्दा बढी कारखानाले चीनमा बिक्री हुने चिया उत्पादन गर्छन्। ती कारखानाले केही चिया निर्यातकर्ता व्यापारीले लगेपनि केही भने बाँकी रहेको जनाएका छन्। फाकफोकथुम गाउँपालिकास्थित तीनजुरे चिया उद्योगमा गतवर्षकै ३ हजार किलो हाराहारी तयारी चिया बिक्री हुन बाँकी छ। केही चिया बिक्री भएपनि कोरोनाकै कारण बाँकी चिया स्टक रहेको उद्योगका सरद शर्मा तिम्सिनाले बताउनुभयो।

उद्योगले बजारको मागअनुसार ब्ल्याक, गोल्डेन, ह्वाइट, ग्रिनलगायत गुणस्तरका चिया उत्पादन गर्छन् । अर्गानिक प्रमाणित अर्थोडक्स चियाको माग र बजार चीनलगायत अन्य देशमा उच्च छ। देउमाई नगरपालिकास्थित राँकेटारमा रहेको उच्च पहाडी चिया सहकारीले गतवर्षको ५ सय किलो तयारी चिया बिक्री नभएको जनाएको छ। सहकारीका रविन राईले कोरोनाका कारण चिया बिक्रीमा समस्या भएको बताउनुभयो।

उद्योगले व्यापारीमार्फत् चीनसम्म तयारी चिया पठाउँछन्। तर, गतवर्षदेखि उडान बन्द भएकाले चीनमा चिया पुर्‍याउनै नसकेको व्यापारी रुपकराज मिश्रले बताउनुभयो। ‘कोरोनाकै कारण पोहोरदेखि लाखौं रुपैयाँको चिया उद्योग र भण्डारणस्थलमै अलपत्र छ,’ उहाँले भन्नुभयो, ‘चीनबाट यो वर्ष पनि धेरै परिमाणको चिया माग आएको छ।  तर, पठाउन सकिएको छैन।’

चीनमा अहिलेसम्म उद्योगी र व्यापारीकै पहलमा मात्र चिया निर्यात भइरहेको छ । कोरोनाले त्यसमा पनि अझ असर पुर्‍याएको हो । सरकारले चीनसँग चिया व्यापारको सम्झौता गर्ने तयारी गरिरहेपनि कोरोनाकै कारण यो प्रयास सफल हुन सकेको छैन । नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले सम्झौताको खाका तयार भएको जनाउनुभयो। ‘हामीले तयार गरेको खाकामा चीनले पनि सहमति जनाइसकेको छ तर दुवै पक्षले त्यसलाई अन्तिम रूप दिएर हस्ताक्षर गर्न बाँकी छ,’ उहाँले भन्नुभयो, ‘यही सिजनमा सम्झौता गरिसक्ने लक्ष्य थियो, कोरोनाकै कारण पछि धकेलिँदैछ ।’