नेपालमा विदेशी लगानी घटेको घट्यै
2021-06-21 16:13:29cri
Share with:

नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घट्ने क्रम गत वैशाखमा पनि जारी रह्यो । जसअनुसार गत वैशाखसम्ममा १४ अर्ब ८ करोड रुपैयाँ एफडीआई मुलुक भित्रिएको छ । अघिल्लो वर्षको दस महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिएको विदेशी लगानी १९.२ प्रतिशतले कम हो ।

२०७७ वैशाखसम्म १७ अर्ब ४२ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । कान्तिपुर अनलाइनका अनुसार विदेशी लगानीको घट्दो प्रवृत्तिलाई विश्लेषकहरूले कोभिड–१९ को प्रभावसँग जोडेर हेरेका छन् । संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको उनीहरूको विश्लेषण छ ।

कोभिड–१९ को असरका कारण विदेशी लगानी पनि प्रभावित बनेको राष्ट्र बैंक अनसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठ बताउनुहुन्छ। ‘अघिल्ला महिनाको तुलनामा अहिले विदेशी लगानी घट्ने दरमा कमी हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘यसअघि ३७ प्रतिशतसम्मले घटेको लगानी गत वैशाखमा १९ प्रतिशतमा झरेको छ । यसलाई सुधारका रूपमा लिनुपर्छ ।’ कोभिड–१९ महामारीको अवस्थामा यति लगानी आउनुलाई पनि सन्तोषजनक मान्नुपर्ने उहाँको भनाइ छ। तर राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले तत्कालका लागि विदेशी लगानी घट्नुको कारण कोभिड–१९ देखिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोध मुख्य कारण भएको औंल्याउनुभयो। ‘यो त एकातिर लगानी गर्न आऊ हामी स्वागत गर्छौं भन्ने, अर्कातिर के देखाएर तर्साउने भनेजस्तो भयो,’ उहाँले भन्नुभयो, ‘विधिगत र संस्थागत विषयमा तालमेल भएन । विभिन्न आकर्षण घोषणा गर्ने तर तिनलाई कार्यान्वयन नगर्ने प्रवृत्ति हाबी भयो ।’ लगानीमैत्री वातावरणका लागि अझै पनि धेरै प्रक्रियागत अवरोध रहेको देखिएको छ । ती समस्या समाधान गर्नकै लागि लगानी बोर्ड र उद्योग विभागमा एकद्वार प्रणालीको सुरुवात भयो । ती प्रयासहरू पनि पर्याप्त नभएकाले अपेक्षित रूपमा विदेशी लगानी भित्रिन नसकेको र नीति निर्माता र कर्मचारीतन्त्रबीच तालमेल नभएकै कारण समस्या निम्तिएको उहाँले बताउनुभयो।

कोभिड–१९ का कारण विश्वव्यापी रूपमा विदेशी लगानी घटिरहेको, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ लगानीकर्ताको अपेक्षाविपरीत (अनुदार) आउनु र विदेशी लगानीको सीमा (थ्रेसहोल्ड) ५० लाख रुपैयाँबाट बढाएर न्यूनतम ५ करोड रुपैयाँ पुर्‍याउनुलगायत कारण विदेशी लगानी घटेको जानकारहरू बताउँछन् । गत आर्थिक वर्षका सबै महिनामा उच्च दरले बढेको विदेशी लगानी चालु आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो ।