५४ दिनपछि निषेधाज्ञा खुकुलो, सटर र सपिङ कम्प्लेक्स खुला, निजी सवारीमा जोर–बिजोर
2021-06-21 16:12:58cri
Share with:

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा मंगलबारबाट खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो ।

सपिङ मल, फेन्सी, गरगहना पसल, खेलकुद सामग्री, स्टेसनरी, विद्युतीय उपकरण, निर्माण सामग्री, टायल, मार्बल फर्निचरलगायतका व्यापार/व्यवसाय बारअनुसार तथा चारपांग्रे निजी सवारी र ट्याक्सीलाई जोर–बिजोर एवं सिट संख्या निर्धारण गरेर सञ्चालन गर्न बैठकले अनुमति दिएको हो । यो निर्णयले सटरमा व्यापार व्यवसाय गरेर दैनिक जीविकोपार्जन गर्ने तथा ट्याक्सी चालकलाई राहत मिलेको छ ।

निजी कार्यालय/संघसंस्थामा काम गर्नेले पनि आफ्नो सवारी प्रयोग गरेर आउजाउ गर्न राहत मिलेको छ । तर खोप व्यवस्था र स्वास्थ्य परीक्षणको दायरा नबढ्दा संक्रमणको जोखिम कम हुनेमा शंका गर्न सकिने भय पनि सरकारी अधिकारीहरूलाई छ । प्रशासनले खुला गरिएका क्षेत्र सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्न भने पनि प्रभावकारी नियमन र अनुशासन पालना नभए संक्रमण रोकथाम र नियन्त्रणमा त्यो प्रत्युत्पादक बन्न सक्ने जोखिम कायमै रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

सभा/सम्मेलन, भौतिक रूपमा उपस्थित भएर गरिने सबै किसिमका पठनपाठन, मन्दिरमा दर्शनार्थी आउजाउ, फुटपाथ पसल, सैलुन, ब्युटीपार्लर, क्लब, जिमखाना, जुलुस, जात्रा, महोत्सव, भोजभतेर, होटल, पार्टी प्यालेस, सिनेमा हललगायत भीड हुने क्षेत्रमा लागेको निषेधाज्ञा भने यथावत् रहनेछ ।

तीनवटै जिल्ला प्रशासनबाट यसअघि विभिन्न वस्तु, सेवा तथा व्यक्तिका सवारीसाधन चलाउन जारी गरिएका पास पनि खारेज गरिएको छ । निजी सवारीसाधनमा जोर–बिजोर र सार्वजनिक ट्याक्सीलाई सिट संख्या तोकेर चलाउन अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्था, सहकारी, रेमिट्यान्सलगायतका क्षेत्रलाई कम जनशक्ति र आलोपालो गरेर निर्बाध सञ्चालन गर्न दिइनेछ । शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालय पनि आलोपालो र न्यूनतम जनशक्तिबाट सञ्चालन गर्न पाइनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा यसअघि जारी गरिएको निषेधाज्ञालाई असार १४ सम्म बढाइएको तर आर्थिक गतिविधिसँग सम्बन्धित निश्चित क्षेत्रलाई बार र समय अवधि तोकेर सञ्चालन गर्न दिइने बताउनुभयो। यो आदेश मंगलबार (असार ८) गतेबाट लागू हुनेछ । वैशाख १६ बाट उपत्यकामा अत्यावश्यक सेवा र तोकिएका क्षेत्रबाहेकमा निषेधाज्ञा छ ।