अबदेखि यातायात सम्बद्ध करहरू अनलाइनबाटै तिर्न पाइने
2021-07-23 16:18:26cri
Share with:

अबदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्वहरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ। लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो ।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ-वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउनुहुन्छ। यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने बताउँदै महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने मन्त्री फुँयालले बताउनुभयो।

‘सकेसम्म सेवा लिन कार्यालयमा आउन नपने व्यवस्था गर्नुपर्छ भन्ने मान्यता हो, तर, कतिपय कागजी कामका लागि सेवाग्राही आउनुपर्ने त हुन्छ,’ उहाँले भन्नुभयो,’पहिलो चरणमा भने राजस्व बुझाउन पनि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन खोजेका छौं । थप सुविधाहरु पनि अनलाइनमा ल्याउँदै जान्छौं ।’

यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने अनलाइनखबरले जनाएको छ।