पोखरा–ढाका हवाई उडानबारे छलफल
2021-07-24 16:37:23cri
Share with:

पोखराको पर्यटन प्रवद्र्धनका लागि पोखरादेखि बङ्गलादेशको ढाकासँग सीधा हवाई उडानका विषयमा पोखरामा छलफल गरिएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले पोखरामा गरेको छलफल बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सीधा हवाई सेवाले दुवै देशको पर्यटनको विकास हुनेमा जोड दिएका थिए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउँदा बङ्गलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सीधा हवाई उडान प्रभावकारी हुने विमान बङ्गलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखराको मनोरम सुन्दरतामा बङ्गलादेशीहरू आकर्षित हुने गरेका छन् । अहिले जति पनि बङ्गालीहरू पोखरा आउँछन्, उनीहरूको दबाब छ, सुन्दर नगरी पोखरा छिटोभन्दा छिटो हवाई सेवा सञ्चालन होस् । ”

कम्पनीले ढाका–काठमाडौँ दैनिक एक उडान मात्रै गर्दै आएको छ । पाँच करोड जनसङ्ख्या रहेको बङ्गलादेशबाट १० प्रतिशत मात्र पर्यटक नेपाल भिœयाउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुनसक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको भनाइ छ ।

नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले सीधा हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग व्यवसायीले समेत पहल गर्ने बताउनुभयो । पश्चिमाञ्चल होटल सङ्घ अध्यक्ष विकल तुलाचनले वर्षमा झन्डै ५० हजार हाराहारीमा बङ्गलादेशी नेपाल आउने गरेकामा २० हजारजति पोखरा आउनसक्ने बताउनुभयो।