गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारीमा हुँदै
2021-07-24 16:35:39cri
Share with:

निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ। विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिनेछ। विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ। क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँच/सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ। उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ ।

क्यालिबेरेशन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण शुरु गर्ने गर्दछन्। विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ । परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ । कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएको गोरखापत्र अनलाइनले लेखेको छ। गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि शुरु गरेको थियो।

आवश्यक सबै उपकरण अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र अस्ट्रियाबाट ल्याइएको आइसिबी टू का परियोजना व्यवस्थापक प्रविन न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो, “आवश्यक सबै उपकरण जडान भइसकेको छ। अब परीक्षणको काम बाँकी छ ।”

गौतबुद्ध विमानस्थलका लागि आवश्यक जग्गा अधीग्रहण गरेर मुआब्जा दिने काम पनि लगभग सकिसकेको छ। आयोजना प्रमुख अधिकारीका अनुसार यो क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित आवश्यक भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तरराष्ट्रियस्तरको उडान र अवतरण थेग्ने क्षमता राख्नेछ ।

नयाँ थपिएको जग्गामा डिभिओआर÷डिएमइ र सेनाको ब्यारेक निर्माण सम्पन्न भइसकेको छ । कार्गो भवनको निर्माण कार्य अन्तिम चरणमा छ । राडर, जहाज मर्मत क्षेत्र ह्याङ्गर, आयल निगमको डिपो, हेलिप्याड, क्याटरिङ, अर्को पार्किङस्थल र अझै एउटा टर्मिनल बिल्डिङ बनाउनुपर्ने आवश्यक छ । उक्त कामका लागि बोलपत्र आह्वानका लागि प्रस्ताव गरिएको छ। भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई धेरैले भैरहवा विमानस्थल भनेर चिन्ने गर्दछन् । घरेलु विमानस्थलका रुपमा रहेको यो विमानस्थलको स्तरोन्नति गर्ने भन्दै औपाचारिकरुपमा २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नुभएको हो । अहिलेको गौतमबुद्ध विमानस्थल विसं २०११ तिर पूर्वप्रधानमन्त्री डा के आइ सिंह र काशीप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो ।