भारतीय पर्यटक लक्षित नेपालगञ्ज–पोखरा उडान नियमित हुँदै
2021-07-24 16:39:52cri
Share with:

साउन १७ गते (अगस्त १ तारिख)देखि वुद्ध एयरले नेपालगञ्ज–पोखरा नियमित उडान सुरु गर्ने भएको छ । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिनुभयो । नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले जनाएको छ ।

नेपालगञ्जबाट विहान १० वजेसातामा हरेक आईतबार, बुधबार र शुक्रबार वुद्ध एयरको पोखरा उडान सुरु हुनेछ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ ।

यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग लिजमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले गण्डकी शाखाको सहकार्यमा सुरुवातमा चार्टड उडान सुरु भएकोमा अबदेखि नियमित उडान सुरु हुनेछ। नेपालगञ्ज–पोखरा उडान नियमित भएपछि भारतीय पर्यटक नेपालगञ्ज हुँदै पोखरा सम्म जान सहज हुने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो। नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ। नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ, नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भन्नुभयो–यसबाट नेपालगञ्जको आर्थिक विकासमा समेत सहयोग पुग्नेछ।