खुला आकाशमा मञ्चन गरिने अद्भुत नाटक ‘राजकुमारी वनछङ’
2021-08-20 10:43:18CRI
Share with:

आउनोस् ८०० कलाकारका साथमा खुला आकाशमा मञ्चन गरिने अद्भुत नाटक ‘राजकुमारी वनछङ’ को छोटो भिडियो हेरौँ। तीन वर्षको लामो यात्रा गाथालाई करिब नब्बे मिनेटमा उतारिएको नाटकलाई पाँच मिनेटको भिडियोमा समेट्ने प्रयास गरेको छु।

आजभन्दा तेह्र सय वर्षअघि तिब्बती राजा स्रङचन गम्पोले नेपाली राजकुमारी भृकुटीलाई विवाह गरेको कुरा हामी इतिहासमा पाउँछौँ। यसै गरी तिब्बती राजा गम्पोले चीनको थाङ (६१८-९०७) वंशीय राजकुमारी वनछङसँग पनि विवाह गरेका थिए। राजकुमारी वनछङको यही तिब्बत यात्राको इतिहासलाई लिएर सन् २०१३ देखि तिब्बतको ल्हासामा खुला आकाशमुनि भव्य नाटक प्रदर्शन गरिँदैआएको छ।

करिब नब्बे मिनेट लामो उक्त नाटकमा तिब्बती राजासँग विवाह गर्न असङ्ख्य नदी तर्दै, पहाड पर्वत काट्दै, हिमपात तथा प्राकृतिक प्रकोप सहेर ल्हासा पुगेको कथालाई चित्रण गरिएको छ।

खुला आकाशमुनि मञ्चन गरिने नाटक र पृष्ठभूमिको पहाडलगायत वरिपरिका वस्तुहरूको प्रयोग, कलाकर्मीसँगै सर्वसाधारण किसानहरू गरी ८०० बढीको अभिनय, भेँडाको बथान तथा सजावट, पहिरनले दर्शकलाई प्राचीन समयमा नै पुर्याउँछ। यसै गरी हिउँदको दृश्यमा दर्शक-दीर्घामै कृत्रिम हिउँ पारेर रोमाञ्चित बनाउनुका साथै न्यानो लुगाको आवश्यकता बोध गराउँदा आफै पनि उक्त नाटकको एक पात्र हो कि भन्ने महसुस गराउँदछ। यस्तै रोमाञ्चित बनाएको भव्य र विशाल नाटकका अंशलाई छोट्याएर तपाईँका लागि यो भिडियो पस्केको छु।

साथै यो अद्भुत नाटक तिब्बतको पोताला दरबार, जोखाङ मन्दिरजस्तै एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको छ। उक्त आयोजक संस्थाका अनुसार, यो नाटक प्रदर्शन थालेदेखि हालसम्म ३० लाख दर्शकले अवलोकन गरिसकेका छन्।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/