नेपालमा चाडवाडलाई लक्षित गरी वायु सेवा कम्पनीहरूले उडान संख्या थप्ने
2021-09-13 16:48:18CRI
Share with:

विगतका वर्षहरुमाजस्तै यस वर्षको दशैं तिहार र छठ पर्वको समयमा हवाइ यात्रुका लागि टिकटको समस्या नहुने भएको छ । वायूसेवा सञ्चालक संघ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान संख्या थप गरी यात्रुलाई सहजरुपमा टिकट पाउने व्यवस्था गर्ने तयारी गरेको विमानस्थलका महाप्रवन्धक प्रतावबहादुर तिवारीले जानकारी दिनुभयो।

कोरोना महामारी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक उडान थप गर्दै हाल १०७ वटासम्म उडान गर्दैआएको छ । संक्रमणको दरमा कमी आएकाले दशैंमा उडानहरु थप गरी यात्रुहरुलाई सहज रुपमा टिकट पाउने व्यवस्था मिलाउने समेत उहाँले बताउनुभयो । विमानस्थलको यस अघिको तथ्याङक हेर्दा दैनिक ३०० वटा सम्म आन्तरिक उडान गरेको पाइएको छ । विमानस्थल हाल १८ घण्टा सञ्चालन हुँदैआएको छ । हाल नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फ नै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिदैआएका छन् । श्री एयरको दुई वटा र सञ्चालनको तयारीमा रहेका गुण एयरको सात वटा जहाज गरी ९ वटा जहाज समेत थप हुने तयारीमा छ।

वायूसेवा सञ्चालक कम्पनीहरुले समेत उडान थप गरी सस्तो सुलभ दरमा आकर्षक छुटसहित सेवा दिने गरी कार्यक्रम ल्याउने तयारी थालेको जनाएको छ । सुगम क्षेत्रका सबै विमानस्थलमा एटिआर ७२ जहाज पुगेकाले यात्रुलाई टिकटको समस्या नहुने र भएमा उडान संख्या समेत थप गरी सेवा दिने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । ठूला जहाज भएकाले सीट क्षमता प्रसस्तै छ, हामीले उडान संख्या पनि बृद्धि गरेकाले दशैं तिहार र छटमा टिकटको समस्या नहुने बुद्ध एयरका कम्युनिकेस म्यानेजर दिपेन्द्र कर्णले बताउनुभयो ।

कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा २०२० मा आन्तरिक हवाइ यात्रुको संख्या ५९.४६ प्रतिशत र अन्तर्राष्ट्रिय हवाइ यात्रुको संख्या ७३.२७ प्रतिशतले घटेको नागरिक उडड्यन प्राधिकरणको तथ्याङक छ । दुर्गम क्षेत्रमा उडान भर्दै आएकामध्ये नेपाल एयरलाइन्सको दुई, तारा एयरको तीन, सीता एअरको तीन र समिट एयरको चार वटा जहाजले थप उडान संख्या बृद्धि गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।