शरद ऋतु नेपालको पर्यटकीय मौसम भएपनि कोरोनाले बुकिङ रद्ध गर्दै पर्यटक
2021-09-13 16:54:30CRI
Share with:

शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम हो। यो मौसममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन्। कोभिड–१९ महामारीको जोखिम नभइदिएको भए यतिखेर विदेशी पर्यटकले नेपालका होटल भरिभराउ हुने थिए। पदमार्ग र अन्य धार्मिकस्थलमा विदेशी पर्यटक खचाखच हुन्थे।

राजधानीको ठमेललगायत देशका प्रमुख पर्यटकीय गन्तव्यमा विदेशी नागरिकको भीडभाड हुन्थ्यो। तर कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको मुलुकको पर्यटन क्षेत्रमा अहिले पनि खासै उत्साह छैन । पर्यटन पूर्वाधारमा लगानी बढाएका व्यसायी निरास छन् । पर्यटनसँग जोडिएका सबैजसो व्यापार व्यवसाय चौपट छ । झिनो सङ्ख्यामा भए पनि पर्यटक पाहुनाको पर्खाइमा छन् व्यवसायी।

कोभिडको दोस्रो लहरपछि नेपालको पर्यटन क्षेत्रमा सकारात्मक गतिविधि बढ्ने अपेक्षा थियो । अझै पनि तेस्रो लहरको जोखिम कायमै रहेकाले पर्यटक र पर्यटकीय गतिविधि बढ्ने अवस्था छैन । यतिखेर पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेका छन् । बुकिङ रद्द भएपछि व्यसायी थप निरास भएका छन्। पर्यटक बढ्नुपर्ने यो सिजनमा तारे होटलका बुकिङ धमाधम रद्द भइरहेको होटल सङ्घ नेपाल (हान) ले जनाएको छ। अहिले राजधानी काठमाडौँमा निषेधाज्ञा हटेको छ । सबै होटल खुलेका छन् तर होटलमा ग्राहक छैनन् । तत्कालै विदेशी पर्यटक नेपाल आउने अवस्था पनि छैन।