भारतसँग वर्षायाम र हिउँदमा बढी भएको विद्युत् आदानप्रदानको प्रस्ताव
2021-09-13 16:55:05CRI
Share with:

नेपाल विद्युत् प्राधिकरणले भारतको बिहार राज्यसँग पारस्परिक विद्युत् आदानप्रदानको प्रस्ताव गरेको छ । बर्खामा नेपालमा विद्युत् उत्पादन बढी हुने र हिउँदमा कम हुने भएपछि बिहार राज्यसँग मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरिएको हो ।

बर्खामा नेपालले २ सय मेगावाटभन्दा बढी विद्युत् बिहारलाई दिन सक्नेछ । हिउँदमा त्यति नै मेगावाट विद्युत् बिहारले नेपाललाई फर्काउनुपर्नेछ । नेपालले राखेको प्रस्तावमा बिहार राज्य सकारात्मक देखिएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो।

बर्खामा नेपालमा बढी विद्युत् उत्पादन हुने र हिउँदमा अपुग हुने भएकाले यस्तो प्रस्ताव गरिएको उहाँको भनाइ छ । जनवरी र फेब्रुअरीमा नेपालमा उत्पादन घट्ने भएकाले बाहिरबाट विद्युत् आयात गर्नुको विकल्प नहुने उहाँको भनाइ छ । ‘जति मेगावाट बिहारले लान्छ, त्यति नै फिर्ता गर्ने प्रस्ताव गरिएको छ,’ घिसिङले भन्नुभयो, ‘यस किसिमको सिजनल पावर एक्सचेन्ज पहिलो पटक हुन लागेको हो ।’ नेपालले प्रस्ताव गरे पनि बिहार राज्यले यसबारे निर्णय गरिसकेको छैन । बिहार स्टेट इलेक्ट्रिसिटी बोर्ड अफिससँग यस्तो प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ । यसबारे त्यहाँका ऊर्जासम्बद्ध सबै कम्पनीका प्रमुखसँग छलफल भएर प्रस्ताव राखिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली बर्खामा बढी हने भएपछि प्राधिकरणले बिहारलाई दिने प्रस्ताव राखेको कान्तिपुर अनलाइनले लेखेको छ।