चीनबाट यही साताभित्र ४४ लाख मात्रा खोप आउँदै
2021-09-14 16:26:05CRI
Share with:

चीनबाट यही साताभित्र थप ४४ लाख मात्रा भेरोसेल खोप आउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले थप खोप आइपुग्ने जानकारी दिनुभयो । सरकारले चीनसँग खरिद गरेकोमध्ये ४४ लाख मात्रा भेरोसेल खोप आइपुग्ने उहाँले बताउनुभयो । सोमबार स्वास्थ्य पत्रकारसँगको कुराकानीमा सचिव पोखरेलले ढिलोमा शुक्रबारसम्म भेरोसेल खोप आइसक्ने जानकारी गराउनुभयो । थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि आउने जानकारी उहाँले दिनुभयो । सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आइसकेको छ ।

गोरखापत्र अनलाइनका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का बिरामी निको हुनेभन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस अवधिमा एक हजार ४८६ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने एक हजार २६० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पीसीआर परीक्षणमा सात लाख ७८ हजार ३१२ पुगेको छ भने एन्टिजेन परीक्षणमा सङ्क्रमित हुने सङ्ख्या ८७ हजार ३१ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९६५ पुगेको छ।

मन्त्रालयका अनुसार १२ हजार ५३२ जनाको पीसीआर र चार हजार सात जनाको एन्टिजेन गरी १६ हजार ५३९ जनाको कोरोना परीक्षण भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६३० रहेको छ । यस्तै, काठमाडौँ उपत्यकाका ४२६ जना सङ्क्रमित थपिएका छन्।