नेपालमा एक करोडले चलाउँछन् फोरजी
2021-09-14 16:37:39CRI
Share with:

फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको हो ।

नेपालमा अहिले तीनवटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराइरहेका छन् । यद्यपि प्रतिस्पर्धा भने मुख्य रूपमा नेपाल टेलिकम र एनसेलबीच मात्र देखिन्छ । प्राधिकरणको तथ्याङ्कअनुसार टेलिकमका फोरजी प्रयोगकर्ता ४७ लाख ४४ हजार नाघेका छन् । एनसेलको सबैभन्दा धेरै ५० लाख ४२ हजार रहेको देखिन्छ । अर्को सेवा प्रदायक स्मार्ट टेलिकमका भने एक लाख ६६ हजार मात्र फोरजी प्रयोगकर्ता रहेका छन् ।

प्रयोगकर्ताको सङ्ख्याको हिसाबले गत आर्थिक वर्ष २०७७/७८ मा फोरजीमा सबैभन्दा धेरै ग्राहक थपिएका छन् । टेलिकमले विगत एक वर्षको अवधिमा मात्रै करिब ४० लाख फोरजी प्रयोगकर्ता थपेको छ ।