७ वर्षपछि नेपालको गुण एयरलाइन्सले उडान पुनः सुरू गर्दै
2021-09-15 15:46:10CRI
Share with:

यति एयरलायन्सका ५ वटा बेलायती जेटस्ट्रीम टर्बोप्रोप जहाज खरिद गरेर आन्तरिक बजारमा ७ वर्षपछि फर्केको गुण एअरलायन्सले शुक्रबारदेखि काठमाडौंबाट उडान पुन: सुरु गर्ने भएको छ । गुणका प्रवक्ता प्रज्वल थापाका अनुसार, पहिलो चरणमा काठमाडौंबाट पोखरा र भरतपुर उडान हुने छ। यी सेक्टरमा उसले १९ सिट क्षमताका बिचक्राफ्ट १९००–सी जहाजबाट सेवा दिने छ। सम्बद्ध एक अधिकारीका अनुसार, यतिसँग ५० करोड रुपैयाँमा खरिद गरिएका जेटस्ट्रीम जहाज असोज दोस्रो सातादेखि मात्रै उडानमा ल्याइने कान्तिपुर अनलाइनमा खबर छ।

वायुसेवा क्षेत्रको नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणले यतिको स्वामित्वमा भएका जेटस्ट्रीम जहाज गुणको एयर अपरेटर्स सर्टिफिकेट (एओसी) मा स्तान्तरण गरेलगत्तै दोस्रो सातादेखि यी २९ यात्रु सीट क्षमताका जहाजले काठमाडौंबाट विराटनगर, तुम्लीङटार, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र सुर्खेत उडान थाल्ने गुणका सीइओ बालकृष्ण श्रेष्ठले बताउनुभयो। गुणले एओसी प्रक्रियाको काम अन्तिम चरणमा रहेको जनाएको छ । गुणले नजिकिँदो चाडपर्वमा अन्य वायुसेवासँग चर्को हवाई भाडामा प्रतिस्पर्धा गर्न तयार रहेको जनाएको छ ।

लकडाउनअघि ०७६ चैत्रसम्म सिम्रिक एयरलायन्सका नामले आन्तरिक उडानमा रहेको यो कम्पनी कोरोना संक्रमणसँगै करिब अठार महिना बन्द भएको थियो। गुणले ११ वर्षअघि बुद्ध एयरसँग १९ सिट क्षमताका दुइटा बिचक्राफ्ट १९००–सी करिब ३० करोड रुपैयाँमा खरिद गरेर आन्तरिक उडानमा प्रवेश गरेको थियो । त्यसबेला यसले बुद्धबाटै करिब २५ करोड रुपैयाँमा बिचक्राफ्ट १९००–डी पनि खरिद गरेको थियो । त्यो विमान एक वर्ष उडाई उसले क्यानेडियन वायुसेवा कम्पनीलाई बिक्री गरेको थियो ।

हाल यतिसँग खरिद गरिएका जेटस्ट्रीम कम्तीमा दुई दशक पुराना जहाज हुन्। ब्रिटीस एरोस्पेसले यी विमान उत्पादन बन्द गरिसकेको छ । उसले हाल यी जहाज उडाइरहेका कम्पनीहरुको मागका आधारमा मात्रै स्पेयर पार्टस् लगायतका पार्टपुर्जा उत्पादन गर्छ । यतिले दुई दशकअघि प्रतिजहाज औसतमा २५ करोड रुपैयाँ हाराहारीमा ६ वटा जेटस्ट्रीम विभिन्न वायुसेवाबाट सेकेन्ड ह्याण्ड खरिद गरेको थियो । गुणले भने यतिबाट ५ वटा जेटस्ट्रीम जहाजसँगै ४ जना क्याप्टेन र ४ जना को–पाइलट पनि लिएको छ । यतिसँग बाँकी रहेको एउटा जेटस्ट्रीम उडान अयोग्य भइसकेको छ । गुणले सिम्रिकको रातो लिभरी कलरलाई हटाई आफ्नो पुरानै सेतो र निलो ब्रान्ड कलरलाई लिभरीमा प्रयोग गरेको छ।

अमेरिकी बिचक्राफ्ट १९००–सी २ र बेलायती जेटस्ट्रीम ५ वटा गरी गुणसँग आन्तरिक उडानका लागि ७ जहाज भएका छन्। जहाजको संख्याका हिसाबले गुण बुद्धपछि दोस्रो कम्पनी भएको छ । बुद्धसँग हाल आन्तरिक उडानका लागि १५ वटा विमान छन् । गुण ग्रुपले सञ्चालन गरेको यो वायुसेवा कम्पनीका सञ्चालक राजेन्द्र शाक्य हुन् । उनी गुण सिनेमा, जीजी टावर, गुण कोलोनी, गुण कोअपरेटिभ, गुण ज्वेलर्स, किस्ट मेडिकल कलेज, मेवा खोला हाइड्रो, मासिफ होटललगायत डेढ दर्जन कम्पनीका सञ्चालक पनि हुन्।