चीनको छङ्तुमा पहिलो पटक मनाइयो नेपालको राष्ट्रिय दिवस
2021-09-22 19:01:24cri
Share with:

चीनको छङ्तुमा पहिलो पटक मनाइयो नेपालको राष्ट्रिय दिवस_fororder_Nepali News 2

चीनको छङ्तुमा पहिलो पटक मनाइयो नेपालको राष्ट्रिय दिवस_fororder_Nepali News 2-2

चीनको छङ्तुमा पहिलो पटक नेपालको राष्ट्रिय तथा संविधान दिवस मनाइएको छ। चार महिनाअगाडि सछ्वान प्रान्तको सदरमुकाम शहर छङ्तुमा खुलेको नेपाली महावाणिज्य दूतावासमा परिसरमा महावाणिज्यदूत दिनेशकुमार घिमिरेले राष्ट्रिय दिवसको अवसरमा नेपालको राष्ट्रिय झण्डाको झण्डत्तोलन गर्नु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

नेपालको राष्ट्रिय गीतबाट सुरु गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा नेपाली समुदायलाई राष्ट्रिय दिवसको उपलक्ष्यमा दिइएका सन्देश नियोग प्रमुख घिमिरेले पढेर सुनाउनु भएको थियो।

यसअघि राष्ट्रिय दिवसकै अवसरमा महावाणिज्यदूत घिमिरेले छन्तुस्थित होटल निकोलोमा एक स्वागत समारोहको आयोजना गर्नु भएको थियो। कार्यक्रममा उहाँले सछ्वान र क्विचौँ प्रान्त एवं छोङछिङ नगरपालिकाको तीब्र विकासको प्रशंसा गर्दै नेपालसँगको व्यापार, आर्थिक विकास र जनस्तरको आदानप्रदान एवम् सहकार्य अझ मजबुत हुने आशा व्यक्त गर्नुभयो। महावाणिज्यदूत घिमिरेले नेपालको पर्यटन र लगानीको बारेमा जानकारी दिँदै सिछुवान जनसरकारले नेपालप्रति दर्शाउँदै आएको सद्भावका लागि धन्यवाद दिनुभयो।

सो अवसरमा सछ्वान प्रान्तीय जनकांग्रेसका उपाध्यक्ष याङ होङ पोले नेपाल र चीनबीचको मैत्रीपूर्ण आदानप्रदानमा सिछुवानले महत्त्वपूर्ण माध्यमको रुपमा भूमिका निर्वाह गरेको भन्दै विपत्ती र महामारीका बेला सिछुवान र नेपाल सामिप्यमा रहेर सहकार्य गरेको बताउनुभयो। उहाँले सम्बन्धित पक्षको प्रयासबाट सछ्वान–नेपाल मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रको सहकार्य अझ प्रवर्द्धन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा नेपालको बारेमा तयार पारिएको भिडियो प्रदर्शन गरिनुका साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। समारोहमा सछ्वान प्रान्त तथा नगरपालिकाका विदेश मामिला कार्यालयका प्रतिनिधि, विभिन्न मुलुकका महावाणिज्यदूत, छन्तु तथा छोङछिङस्थित विदेशी नियोगका प्रतिनिधि, स्थानीय उद्योगी, व्यापारी, लगानीकर्ता, संचारकर्मी र सिछुवानमा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो।