चीनबाट नेपालमा आएको पछिल्लो ४४ लाख डोज कोभिड खोप लगाउन सुरु
2021-09-22 19:00:46cri
Share with:

चीनबाट खरिद गरिएको कोभिड–१९ विरुद्धको ४४ लाख डोज खोप नेपाल आइपुगेको छ। चीनबाट खरिद गरेको ६० लाखमध्ये १६ लाख मात्रा खोप यसअघि नै आइसकेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार योसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ। चीनबाट आएको खोप सोमबारबाट लगाउन सुरु गरिएको छ। पहिलो मात्रा भेरोसेल लगाएकालाई यसै खोपमार्फत दोस्रो मात्रा दिइन लागिएको नेपाल खबर अनलाइनले लेखेको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो। कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वरमा ११, दक्षिणकालीमा नौ, बुढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शंखरापुर र बागेश्वरी मनहरामा नौ/नौ खोप केन्द्र तोकिएका छन्।

त्यसबाहेक नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ जना छ।  पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १० र दुई सयभन्दा बढी संक्रमित हुने जिल्ला २२ छ। अहिलेसम्म सात लाख ४९ हजार दुई सय १३ कोरोनामुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९५.५ प्रतिशत छ। अहिलेसम्म संक्रमणबाट ११ हजार ४० जनाको निधन भएको छ।