चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले चिनियाँ वाणिज्य भन्सार तथा बन्दरगाह प्राधिकरणसँग सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नु भएको छ। चीनको तिब्बत स्वशासित क्षेत्रस्थित भन्सार कार्यालयले तातोपानी नाकाबाट अबदेखि दैनिक २० गाडी नेपाल प्रवेश गराइदिने वचनबद्धता दिएको छ। नेपाल आउन लागेको १५ हजार मेट्रिक टन मल विनारोकावट जान दिने पनि चिनियाँ अधिकारीले वचन दिएका नयाँ पत्रिका अनलाइनले लेखेको छ।
आफूले तिब्बत स्वायत्त प्रदेशका अधिकारीहरूसँगको छलफलमा नेपालमा जान लागेको मल विनारोकावट नेपाल पठाउने र दसैँतिहारलक्षित सामान नरोक्नेलगायतका प्रतिबद्धता मागेको ढकालले बताउनुभयो। चिनियाँ अधिकारीहरूले तातोपानी नाकामा जस्तै केरुङमा पनि हुक एन्ड ड्रप तरिका अपनाएर कार्गो ढुवानी गर्ने विषयमा अध्ययन गर्ने पनि वचन दिएको उहाँले जानकारी दिनुभयो।
उहाँले तातोपानी र केरुङ नाकाबाट नेपाल भित्रिने ट्रकहरूको संख्या पनि थप गरिदिन आग्रह गर्नु भएको छ।