दसैँमा उपत्यकामा ५४ करोडका खसीबोका बिक्री
2021-10-21 16:15:00CRI
Share with:

यो वर्ष दसैँमा काठमाण्डु उपत्यकामा झन्डै ५४ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन्। दसैँमा सबैले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका बिक्री हुने गर्छ। यो वर्ष झन्डै ५४ करोड रुपैयाँ बराबरको ३२ हजार संख्यामा खसीबोका बिक्री भएका छन्। खाद्य व्यवस्था कम्पनी लिमिटेड र निजी व्यवसायीले गरेर उपत्यकामा ३२ हजार संख्यामा खसीबोका बिक्री गरेका हुन्।

निजी व्यवसायीले ३० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ हजार ९ सय ५६ ओटा खसीबोका बिक्री गरेको कारोबार दैनिकले लेखेको छ। निजी व्यवसायीले ५० करोड २२ लाख रुपैयाँ बराबरको ३० हजार खसीबोका र च्याङ्ग्रा विक्री भएको बताएका छन्। चौपाया खरिद विक्री सेवा संघका अध्यक्ष दिपक थापाले यो वर्ष ३० हजार संख्यामा खसीबोका विक्री भएको बताउनुभएको छ।

अघिल्लो वर्ष ४५ हजार खसीबोका बिक्री भएकामा यो वर्ष कोभिडको कारणले गर्दा आम्दानी कम हुँदा उपत्यकामा खसीबोकाको माग कम हुन गइ खपत घटेको उहाँको भनाइ छ। यसवर्ष ५० प्रतिशत स्थानीय उत्पादन र ५० प्रतिशत छिमेकी मुलुक भारतबाट आयात भएको थियो। अघिल्लो वर्ष ६० प्रतिशत भारत र ४० प्रतिशत आन्तरिक उत्पादन खसीबोका खपत भएको थियो।

दसैँमा उपत्यकामा ठूलो संख्यामा खसीबोकाको कारोबार हुने गरेकोमा यो वर्ष झण्डै १५ हजारको संख्यामा कम भएको व्यवसायीको भनाइ छ। यस्तै ४ हजार ५ सय संख्यामा च्याङ्ग्रा विक्री भएको संघले जानकारी दिएको छ। अघिल्लो वर्ष १० हजार संख्यामा च्याङ्ग्रा विक्री भएकोमा यो वर्ष तिब्बतबाट आयात नहुँदा कम विक्री भएको व्यवसायीले बताएका छन्।

साथै दसैँलाई भनेर ल्याइएको ३ हजार संख्यामा खसीबोका विक्री गर्न बाँकी रहेको व्यवसायीले बताएका छन्।

यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ करोड ५० लाख रुपैयाँ बराबरको १ हजार ९ सय ५६ संख्यामा खसीबोका विक्री गरेको छ। कम्पनीले बजार मूल्य नियन्त्रण गर्नका लागि प्रत्येक वर्ष खसीबोका खरिद गरेर सुपथ मूल्यमा विक्री गर्दै आएको छ।