राम्रो शिक्षा दिऊँ अभियान प्रभावकारी
2021-10-21 16:25:47CRI
Share with:

करिब डेढ दशकदेखि धनुषाका चारवटा स्थानीय तहमा सञ्चालित ‘निक शिक्षा दिअ’ अभियानले राम्रो प्रभाव पारेको गोरखापत्रअनलाइनले लेखेको छ। यो अभियानले दलित र मुस्लिम समुदायका बालबालिकालाई विद्यालयसम्म पुर्याउन शैक्षिक सामग्री वितरण गरिरहेको छ। यसको प्रभावस्वरूप केही वडाका सबै बालबालिका विद्यालय भर्ना भएका छन्। लक्ष्मीनियाँ गाउँपालिकासहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा आसमान नेपालको यो परियोजना सञ्चालित छ।

परियोजनाका टिम लिडर दिलीप यादवले कोरोना भाइरस (कोभिड–१९) महामारीको पहिलो र दोस्रो लहरमा बालबालिकाको सिकाइको निरन्तरता, मनोसामाजिक असर तथा प्रभाव कम गर्न शिक्षण सिकाइका विभिन्न विकल्प प्रयोग गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार एक टोल, एक शिक्षक परिचालन गर्दै अभ्यास पुस्तिका वितरण, ‘एकले पाँच जनालाई पढाउने’ र ‘घरमे स्कुल, अभिभावक बनु शिक्षक’ अभियान र मोबाइलबाट शिक्षण तथा प्रश्नोत्तर सोध्ने, हाजिरीजवाफ प्रतियोगिता गर्ने अभियान सञ्चालन भएका थिए।

आमा समूह, छात्रा सञ्जाल, बालक्लब गठन गरेर सामाजिक र आर्थिक रूपमा पछाडि परेर विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयसम्म पुर्याउने, विद्यालयमा पनि निरन्तर अनुगमन र विभिन्न शैक्षिक गतिविधि हुँदै आएका छन्।

यसरी क्रियाकलाप भएपछि करिब ८० प्रतिशत विद्यार्थी नियमित रूपमा विद्यालय पुगेका र ३० प्रतिशतबाट बढेर ६० प्रतिशतसम्म शैक्षिक क्षमता बढेको आसमान नेपालको तथ्याङ्कमा उल्लेख छ।

गणेशमान चारनाथ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छोटी मुखियाले लामो समयदेखि सञ्चालनमा आएको यस परियोजनाका कारण शैक्षिक गतिविधिमा राम्रो प्रभाव परेको बताउनुभयो। शिक्षक साफिद राइनले धनुषा जिल्लामा रहेका मुस्लिम समुदायले सरकारी विद्यालयबाट शिक्षा लिन थालेको बताउनुभयो। उहाँका अनुसार मदरसामा रहने मौलानाले मदरसालाई नेपाल सरकारको सरकारी निकायमा दर्ता गरेसँगै सरकारी बजेटसहित शैक्षिक रूपमा फाइदा लिएका छन्।

यस्तै लक्ष्मीनियाँ गाउँपालिकाको नगडियास्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार लाल कर्णले यस अभियानबाट शिक्षक, अभिभावक र विद्यार्थीमा पढ्ने तथा पढाउनुपर्छ भन्ने जागरण बढेको बताउनुभयो। होटलमा बालश्रम गरिरहनुभएका लक्ष्मीनिया गाउँपालिका–३ का शङ्कर धन्कारले यस संस्थाबाट दुई वर्षअघि उद्धार गरेर अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। अपाङ्गता भएर हिँड्डुल गर्न असमर्थ सात वर्षका आशिक महरा पनि दातृ निकायले उपलब्ध गराएको ह्विलचेयर पाएर खुसी हुँदै नियमित विद्यालय गइरहनुभएको छ।